ताजा समाचार

धवलागिरिमा ज्यान गुमाएका पर्वतारोहीको शव सङ्कलन गरी काठमाडौँ ल्याइयो

काठमाडौं । म्याग्दीको धवलागिरि गाउँपालिका–४, मुदीस्थित आठ हजार १६७ मिटर अग्लो धवलागिरि हिमाल आरोहणका क्रममा ज्यान गुमाएका पाँच जना रुसी पर्वतारोहीको शव सङ्कलन गरी काठमाडौँ लगिएको छ ।

बुधबार बिहान एभरेस्ट एयरको हेलिकोप्टरबाट पुगेको उद्धार टोलीले घटनास्थलबाट शव सङ्कलन गरी आधारशिविरमा ल्याएको थियो । हिमाल आरोहणका क्रममा एक सातअघि सात हजार एकसय मिटर उचाइमा मृत अवस्थामा भेटिएका पर्वतारोहीको शव सङ्कलन गरी काठमाडौँ लगिएको जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी नायब उपरीक्षक भरत श्रेष्ठले जानकारी दिए ।

उनका अनुसार हेलिकोप्टरबाट हिमालमा पुगेका शेर्पाको टोलीले घटनास्थलबाट शव सङ्कलन गरेको हो । कठिन भूगोल र प्रतिकुल मौसमका कारण एक हप्तादेखि शव उठाउन सकिएको थिएन । सेभेन समित ट्रेकका सञ्चालक मिङ्मा शेर्पाको नेतृत्वमा पाँच जना शेर्पाको टोली शव उठाउन खटिएको प्रनाउ श्रेष्ठले जानकारी दिए । उनले भने, “बुधबार बिहान हेलिकोप्टरमा पुगेका शेर्पासहितको उद्दार टोलीले घटनास्थलबाट इटाली आधार शिविरमा पाँच जना आरोहीको शव सङ्कलन गरेको हो । सङ्कलन भएका शव आधार शिविरमा ल्याएर हेलिकोप्टरबाट काठमाडौँ लगिएको छ ।” उद्धारकर्ताहरू हेलिकोप्टरबाट डोरीमा झुन्डिएर शव भएको ठाउँमा पुगेको उनले बताए । अत्यन्तै जोखिम मोलेर उद्धार टोलीले शव सङ्कलन गरेको उनको भनाइ थियो ।

आधार शिविरको हाइक्याम्पमा बास बसेर धवलागिरि आरोहणका लागि गएका उनीहरू सात हजार सात सय मिटरको उचाइबाट यही असोज २१ दिउँसो ११ बजेदेखि सम्पर्कविहीन भएका थिए । प्रहरीका अनुसार रुसी अलेक्जेन्डर दुसेको, ओलेग कुर्गलोभ, भ्लालिमिर चिस्तिकोभ, मिखाइल नोसेन्को र डिमित्री शालिलेभोइको शव २३ गते दिउँसो भेटिएको थियो ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org