ताजा समाचार

आफ्नै प्रेमिकाको हत्यारा पक्राउ

काठमाडौं । काभ्रे जिल्लामा दुई वर्षको प्रेम सम्बन्धपछि एक युवकले आफ्नी प्रेमिकाको दाउरा प्रहार गरी हत्या गरेका छन् । प्रेमिकाले सम्बन्धबाट टाढा जान थालेपछि योजनाबद्ध रूपमा हत्या गरिएको खुलेको छ ।

जिल्ला प्रहरी कार्यालय काभ्रेका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक (डीएसपी) मीनबहादुर घलेका अनुसार, रामेछाप मन्थली नगरपालिका–१३ का ३७ वर्षीय सन्तोष सुनारले बनेपा नगरपालिका–९ की ३३ वर्षीया शर्मिला उप्रेतीको हत्या गरेका हुन् ।

गत शनिबार बनेपा–१३ भगवान थुम्कीस्थित सामुदायिक वनको भिरालो जमिनमा चिलाउने रुखको फेदमा एक अपरिचित महिलाको शव फेला परेको थियो ।

शव फेला परेपछि इलाका प्रहरी कार्यालय बनेपाको टोली र धुलिखेल अस्पतालका फरेन्सिक विशेषज्ञले अनुसन्धान थालेका थिए । भुम्लु गाउँपालिका–१ डाँडाखर्क घर भई हाल बनेपा–९ नयाँ बस्तीमा बस्दै आएका मृतकका बुवाले शवको सनाखत गरेका थिए ।

प्रेमिकाको हत्या गरेर फरार भएका सन्तोष सुनार बनेपा नगरपालिका–१० स्थित इँटाभट्टामा लुकिरहेको अवस्थामा पक्राउ परेका हुन् । उनले शर्मिला उप्रेतीको दाउराले हानी हत्या गरेको र त्यसपछि शव सलले झुन्ड्याएर आत्महत्या झैँ देखाउने प्रयास गरेको स्वीकार गरेका छन् ।

प्रारम्भिक अनुसन्धानअनुसार, शर्मिला उप्रेतीसँग सन्तोष सुनारको २ वर्षदेखि प्रेम सम्बन्ध थियो । सन्तोषले विवाहको प्रस्ताव राखेपछि शर्मिलाले आलटाल गर्दै आएकी थिन् । पछि शर्मिला अर्कैसँग सम्बन्धित भएको शंका गर्दै हत्या गरिएको खुलेको छ ।

प्रहरीले जिल्ला अदालत काभ्रेबाट चार दिनको म्याद लिएर थप अनुसन्धान गरिरहेको जनाएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org