ताजा समाचार

१९ औं एसियाड पुरुष क्रिकेटको क्वाटरफाइनलमा नेपाल भारतसँग २३ रनले पराजित

काठमाडौं । चीनको हान्झाउमा जारी १९ औं एसियाड अन्तर्गत पुरुष क्रिकेटको क्वाटरफाइनलमा नेपाल भारतसँग २३ रनले पराजित भएको छ ।

टस जितेर पहिले ब्याटिङ गरेको भारतले निर्धारित २० ओभरमा ४ विकेटको क्षतिमा २०२ रनको लक्ष्य नेपाललाई प्रस्तुत गरेको थियो । जवाफमा नेपालले पूरै २० ओभर खेल्दा ९ विकेट गुमाएर १७९ रन मात्र बनाउन सक्यो ।

नेपालले बलिङमा अन्तिम ओभरमा २५ रन खर्चिएको थियो । त्यो महँगो ओभरमा मात्रै भारतका रिंकु सिंहले दुई चौका र दुई छक्का हानेर स्कोरलाई २०३ रन पुर्याएका थिए ।

नेपालका लागि दीपेन्द्र सिंह ऐरीले १५ बल खेल्दै ४ चौका मदतमा सर्वाधिक ३२ रन बनाए । यस्तै सन्दिप जोरा र कुशल मल्लले समान २९ रन बनँए । जोराले १२ बलमा १ चौका र ३ छक्का प्रहार गर्दा २२ बल खेलेका कुशल मल्लले २ चौका र २ छक्का प्रहार गरे । कुशल भुर्तेलले ३२ बल खेल्दै ४ चौका र १ छक्का मदतमा २८ रन जोडे । आसिफ शेखले ६ बलमा १० रन बनाएर आउट भए ।

कप्तान रोहित पौडेल ३, सोमपाल कामी ७, गुल्शन झा ६ र सन्दीप लामिछाने ५ रनमा आउट भए । करण केसी १८ रनमा अविजित रहे ।

भारतका लागि रवि बिश्नोईले ४ ओभरमा २४ रन खर्चेर ३ विकेट लिए । र आभेष खानले ४ ओभरमा ३२ रन खर्चेर ३ विकेट लिए । अर्शदिप सिंह २ तथा साई किशोरले १ विकेट लिए ।

त्यसअघि ओपनर यशस्वी जैसवालले शतक प्रहार गर्दा भारतले २०२ रन बनाएको थियो । जैसवालले ४९ बल खेल्दै ८ चौका र ७ छक्का मदतमा १०० रन बनाए । उनले कप्तान रुतुराज गाएकवाडसँग पहिलो विकेटका लागि शतकीय साझेदारी गर्दै सानदार सुरुवात दिलाएका थिए ।

पहिलो विकेटका लागि यो जोडीले १०३ रनको साझेदारी गरेका थिए । भारतले पावर प्लेमै विना क्षती ६३ रन बनाएको थियो ।

दीपेन्द्र सिंह ऐरीले १०औं ओभरमा उक्त साझेदारी तोड्दै नेपाललाई पहिलो सफलता दिलाएका थिए । दीपेन्द्रले भारतका कप्तान रुतुराज गाएकवार्डलाई १०औं ओभरको पाँचौ बलमा कप्तान रोहितबाट डिप मिडविकेटमा क्याचआउट गराए । गाएकवाडले २५ बल खेल्दै ४ चौका मदतमा २३ रन बनाए ।

त्यसपछि नेपालका सोमपाल कामीले भारतका तिलक वर्मालाई १२औं ओभरको चौथो बलमा बोल्ड गर्दै दोस्रो सफलता दिलाएका हुन् । तेस्रो नम्बरमा ब्याटिङ गरेका तिलक १० बलमा २ रन बनाएर आउट भए ।

लगत्तै १३औं ओभरको पाँचौ बलमा सन्दीप लामिछानेले भारतका जितेश शर्मालाई कट एण्ड बोल्ड गर्दै नेपाललाई तेस्रो सफलता दिलाएका थिए ।

भारतका लागि शतक प्रहार गरेका जैसवाललाई दीपेन्द्रले १७औं ओभरको दोस्रो बलमा अभिनाश बोहराबाट क्याचआउट गराए ।

तर त्यसपछि शिवम दुवे र रिंकु सिंहले आक्रमक ब्याटिङ गर्दै भारतको स्कोरलाई २०० कटाएका थिए । रिंकुले नटआउट ३७ र शिवम दुवेले नटआउट २५ रन बनाए । रिंकुले १५ बल खेल्दै २ चौका र ४ छक्का प्रहार गरे ।

नेपालका लागि दीपेन्द्र सिंह ऐरीले ४ ओभरमा ३१ रन खर्चेर २ विकेट लिए । सोमपाल कामीले ४ ओभरमा ३८ रन खर्चेर १ विकेट लिए । १ विकेट लिएका सन्दीपले ३ ओभरमा २८ रन खर्चिएका थिए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org