पुख्र्यौली नाच जोगाउँदै ज्येष्ठ नागरिक
काठमाडौं । म्याग्दीको बेनी नगरपालिका–३ भकिम्लीमा जनजाति समुदायको बाहुल्यता रहेको छ । यहाँका स्थानीय पुख्र्यौली संस्कृतिका रुपमा रहेको मादले मारुनी नाच र सोरठी भाका संरक्षणमा जुटेका छन् ।
वडा नं ३ को हरेक टोल र बस्तीस्तरमा पुख्र्यौली समूह छन् । भकिम्लीका डोले, चिनाखेत, मुसुङ, राखु लगायतका बस्तीमा पुख्र्यौली समूह गठन गरेर स्थानीयवासी मौलिक संस्कृति संरक्षणमा सक्रिय भएका हुन् । गाउँमा हुने सार्वजनिक कार्यक्रममा अतिथिको स्वागतमासमेत उनीहरुले पुख्र्यौली नाचलाई प्रदर्शन गर्दै आएका छन् ।
स्थानीय ८८ वर्षीय तुलबहादुर पुनले ३६ वर्ष मादले र ३६ वर्ष मारुनीको भूमिकामा पुख्र्यौली नाच नाच्नुभयो । बुढ्यौली लागेपछि उहाँले अहिले सोरठी गाउन थाल्नुभएको छ । गाउँमा हुने सांस्कृतिक कार्यक्रममा पुन सोरठी गाउन पुग्ने गर्नुभएको छ ।
दसैँ–तिहार, नयाँ वर्षलगायतको अवसरमा गाउँमा नियमित रुपमा पुख्र्यौली नाच देखाउँदै आएका यहाँका स्थानीयवासीले बच्चा जन्मिएपछि नाम राख्ने दिन, भात खुवाउने, छेवर र न्वारन तथा विवाहमासमेत पुख्यौली नाच देखाउँदै आएका अग्रज कलाकार लक्षु पुनले बताउनुभयो ।
“सुरुमा नाच देखाउनुअघि सोरठी भाकामा सरस्वती जगाउने गरिन्छ । मादलको तालमा सोरठीको भाकाको कम्पनले कतिपय काम्ने गर्छन् । सरस्वती जागेर कामेकालाई मादलकै तालले फेरि सामान्य अवस्थामा फर्काउने गर्छौँ”, उहाँले भन्नुभयो । पुनका अनुसार सोरठी भाकामा देविदेवताका कथादेखि मायाप्रेम र सदभावका टुक्का गीतमार्फत गाउने गरिन्छ ।
बाह्य संस्कृतिको प्रभावले मौलिक संस्कृति हराएर जाने जोखिम बढेपछि भकिम्लीमा वृद्धवृद्धासमेत पुख्र्यौली संस्कृति जगेर्ना गर्न लागिपरेका ७८ वर्षीय कुविर थापामगरले बताउनुभयो । युवायुवतीले पुख्र्यौली नाच र सोरठी गाउन सिके पनि उनीहरु विदेश पलायन हुने भएकाले ज्येष्ठ नागरिक नै संस्कृति जगेर्नामा लागेको उहाँको भनाइ थियो ।
“हामीले सानै उमेरदेखि रहर नै रहरमा नाच्न र गाउन सिकेका हौँ । अहिले नयाँ पुस्तालाई जोडबल गरेर संस्कृतिको पुस्ता हस्तान्तरण गर्नुपर्ने अवस्था आएको छ”, मगरले भन्नुभयो, ‘नयाँलाई सिकाउँछौँ तर सिकेका युवायुवती विदेश पलायन हुने भएकाले संस्कृति हस्तान्तरणमा चुनौती थपिएको छ ।’
भकिम्लीका ६५ वर्षीय जीतबहादुर थापाले पनि गाउँमा पुख्र्यौली नाच देखाउँदा मादलेको भूमिकामा आफूलाई निरन्तर सहभागी गराउँदै आउनुभएको छ । आफ्नो बुबा र बाजेहरुको अनुशरण गर्दै आफूले पनि मौलिक संस्कृतिको रुपमा रहेको पुख्र्यौली नाचलाई निरन्तरता दिएको उहाँको भनाइ थियो ।
पुख्र्यौली नाचमा मादलेको भूमिकामा पुरुष नै हुन्छन् भने पुरुष नै महिलाको वेषमा सजिएर मारुनी बन्ने गर्छन् । महिलाले सोरठी भाका गाउने र पुरुष मादले र मारुनी बनेर नाच देखाउने प्रचलन छ । पुरुष कोहीकाहीँ महिलाले लगाउने चोली, गुन्यू, पटुका, घल्याङ, पछ््यौरा, माला, हातमा रैयाले सिँगारिएर मारुनी बन्छन् भने सोही अनुपातमा शिरमा फेटा÷टोपी, भोटो, खादी, भाङ्ग्रा पहिरिएर कम्मरमा मादल भिरेर मादले बनेकाले मादले मारुनी नाच देखाउँछन् ।
पुख्र्यौली नाचलाई पुस्तान्तरण गर्नका लागि हरेक पुख्र्यौली समूहलाई मादले मारुनी नाचमा युवापुस्तालाई सहभागी गराउन अनुरोध गरिएको बेनी–३ का वडाध्यक्ष पदमबहादुर पुनले बताउनुभयो । गाउँमा आयोजना हुने विभिन्न सार्वजनिक कार्यक्रम, विवाह, क्षवर र छैटौँका साथै धार्मिक पर्वमा सोरठी भाकासहित मादले र मारुनी नाच देखाउने प्रचलन रहेको उहाँको भनाइ थियो ।
प्रवासबाट आउने लाहुरे, भ्रमणमा आउने पर्यटक र अतिथिको स्वागतमा पुख्र्यौली नाच प्राथमिकतामा पर्ने गरेको स्थानीय ७४ वर्षीय मनबहादुर पुनले बताउनुभयो । उहाँका अनुसार तिहारको अवसरमा खेलिने देउसी भैलोमासमेत पुख्र्यौलीलाई समावेश गर्ने गरिन्छ । सात वर्षको उमेरदेखि नै पुख्र्यौली नाच्न थालेको भन्दै यसमा आफू सहभागी हुन पाउँदा गौरवको महसुस हुने गरेको उहाँको भनाइ थियो ।
‘केही वर्ष अघिसम्म यो नाच हराउछ कि भन्ने डर थियो । हिजोआज युवायुवती पनि यो नाच नाच्न तयार भएका छन्’, पुनले भन्नुभयो, ‘संस्कृति सिक्न नयाँ पुस्ता अग्रसर भएकाले पनि संस्कृति हस्तान्तरण हुनेमा विश्वस्त बनेका छौँ ।’ मादलको तालमा गीत गाउँदा मादले मारुनी मात्रै नभएर अरु पनि नाच्ने गर्छन् । उहाँका अनुसार पुख्र्यौली नाच देखाउने हरेक समूहमा नाच देखाउने मादले मारुनीसहित सोरठी गाउने कलाकारसहित १५ जनाभन्दा बढी कलाकार सहभागी हुने गर्छन् ।
सोरठी भाकाको गीत र मादले मारुनी नाच सात दिन र रातिसम्म पनि नसकिने भएकाले समय, अवस्था र परिस्थिति हेरर यो नाच देखाउने गरिन्छ ।
Comments
अरु समाचार
-
लोकतान्त्रिक मूल्य सुदृढ बनाउन अग्रज नेताको आदर्श आत्मसात् गर्नुपर्छः पूर्वराष्ट्रपति भण्डारी
ललितपुर । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले लोकतान्त्रिक मूल्यमान्यता, नैतिकता, सुशासन र जनउत्तरदायित्वलाई सुदृढ बनाउन अग्रज राजनीतिक व्यक्तित्वहरूको आदर्शलाई आत्मसात् गर्न आवश्यक...
-
आम्दानी र सिट उपयोगितामा सुधार, निगमलाई आत्मनिर्भर बनाउने तयारी
काठमाडाैं । नेपाल वायुसेवा निगमले नयाँ नेतृत्व पाएसँगै संस्थागत सुधारका कामले गति लिन थालेको जनाएको छ। व्यवस्थापकीय सुधार, कार्यसम्पादनमा जवाफदेहिता...
-
एआई प्रविधिले उकास्यो चीनको व्यापार, निर्यातमा दोहोरो अंकको वृद्धि
हङकङ। कृत्रिम बौद्धिकता (एआई)सम्बन्धी उत्पादनको विश्वव्यापी माग तीव्र बनेसँगै चीनको निर्यात जुन महिनामा वार्षिक आधारमा २७ प्रतिशतले वृद्धि भएको छ...
-
आजदेखि साबिककै अनुसार १४.२ किलो तौल भएको ग्यास सिलिन्डर प्रयोगमा ल्याइँदै
काठमाडौं । नेपाल आयल निगमले आजदेखि बजारमा खाना पकाउने ग्यासको भरी सिलिन्डर पठाउने भएको छ । निगमले साबिककै अनुसार १४.२...
-
विश्वकप २०२६: फ्रान्सलाई २–० ले हराउँदै स्पेन १६ वर्षपछि फाइनलमा
काठमाडौँ। बलियो प्रतिद्वन्द्वी फ्रान्सलाई स्तब्ध बनाउँदै स्पेन फिफा विश्वकप–२०२६ को फाइनलमा प्रवेश गरेको छ । अमेरिकाको डालास स्टेडियममा बुधबार बिहान...
-
मुलुकका ४४ जिल्लामा बाढीको जोखिम, साना नदीमा आकस्मिक बाढीको सम्भावना
काठमाडौँ। यतिबेला मुलुकका ४४ जिल्लामा आकस्मिक बाढीको मध्यमदेखि उच्च जोखिम रहेको छ ।जल तथा मौसम विज्ञान विभागले पाँचथर, इलाम, झापा,...
-
मन्त्रीपरिषद् बैठकका पाँच महत्त्वपूर्ण निर्णय, वायुसेवा निगमको कार्यकारी अध्यक्षमा महेश्वरभक्त श्रेष्ठ नियुक्त
काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय सिंहदरबारमा मंगलबार बसेको मन्त्रीपरिषद् बैठकले पाँच महत्वपूर्ण निर्णय गरेको छ । यसैक्रममा बैडकले बीउबिजनसम्बन्धी...
-
बैंकर ज्योति पाण्डेलाई मातृशोक
काठमाडौं। नेपाल इन्भेष्टमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योतिप्रकाश पाण्डे र शिखर इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत दीपप्रकाश पाण्डेलाई मातृशोक परेको छ।...
-
सुनसरीमा भ्यान दुर्घटना: २ जनाको मृत्यु, एक घाइते
इटहरी। सुनसरीको इटहरीमा विद्युत कार्यालय धरानको भ्यान दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । एक जना घाइते भएका छन्।...












