सुन्तला बेचेर करोडौँ आम्दानी
काठमाडौं । बागलुङको सुन्तला गाउँका रुपमा परिचित सिगानाका किसानले यसवर्ष सुन्तला बिक्री गरेर रु तीन करोड भित्राएका छन् ।
गतवर्ष भन्दा यस वर्ष सिगानामा सुन्तला उत्पादनमा वृद्धि भएको किसानको भनाइ थियो । यस वर्ष उनीहरुले गत वर्षकै मूल्यमा बगैँचा नै व्यापारीलाई बिक्री गरेका थिए । बोटबाटै सुन्तला बिक्री गर्दा सरदर मूल्य प्रतिकेजी रु ५० पर्न गएको छ ।
यस वर्ष उत्पादित यहाँको सुन्तला ९० प्रतिशत बजार पुगिसकेको छ । गणेश कृषि व्यावसायिक सहकारीमार्फत सुन्तलाको बजारीकरण समेत हुँदै आएको छ ।
बागलुङ नगरपालिका–८ सिगानाका किसानले सुन्तला बिक्रीबाट रु तीन करोड भित्राउन सफल भएका हुन् । सहकारीले सङ्कलन गरेको तथ्याङ्कअनुसार गत वर्ष सुन्तला बिक्रीबाट रु दुई करोड ७५ लाख भित्राइएको थियो । यस वर्ष रु तीन करोड ५० लाखको सुन्तला बिक्री गर्ने लक्ष्य रहेपनि मूल्य वृद्धि नहुँदा करिब तीन करोडको मात्रै बिक्री भएको किसानले बताएका छन् ।
अहिले सहकारीले सुन्तला बिक्रीको तथ्याङ्क सङ्कलन गरिरहेको सहकारीका सल्लाहकार एवं अगुवा सुन्तला किसान शिवकुमार खड्काले बताए । “गत वर्ष तीन करोडको अनुमान गरिएकामा सबै तथ्याङ्क रु दुई करोड ७५ लाख गाउँ भित्रिएको पाइयो”, उनले भने, “अहिले गत वर्ष भन्दा केही बढी आम्दानी भएको छ ।”
सिगाना गाउँको साविक ३, ४, ५ र ७ वडामा सुन्तला राम्रो उत्पादन हुने खड्काले जानकारी दिए । “सहकारीमा मात्रै आबद्ध एक सय ५० किसान सुन्तला खेतीमा छन्”, उनले भने, “सहकारीमार्फत ४० हजार नयाँ बिरुवा अनुदानमा वितरण गरिरहेको थियो । अबको पाँच वर्षमा रु पाँच करोडको सुन्तला बिक्री गर्ने लक्ष्य रहेको छ ।”
आठ रोपनी जग्गामा व्यावसायिक सुन्तलाखेती गरेका अनन्तबहादुर खड्काले यस वर्ष पाँच लाख ५० हजारमा सुन्तला बगान पोखराका व्यापारीलाई बिक्री गरेको बताए । उनले यस वर्ष सुन्तलाको उत्पादन बढेपनि मुल्य भने पोहरकै भएकाले आम्दानी पनि उस्तै भएको बताए ।
सिगानाका किसानले न्यूनतम २५ हजारदेखि अधिकतम पाँच लाखसम्म सुन्तलाको बिक्री गर्दै आएका छन् । खड्काका अनुसार पोखरा, चितवन, नारायणगढ र धादिङका व्यापारीले यहाँका सुन्तला बोटबाटै टिपेर लैजाने गरेका छन् । बगैँचा विस्तार र मलजलको उचित व्यवस्था भए सुन्तालाको उत्पादन राम्रो हुने उनको भनाइ थियो ।
यसवर्ष सुन्तलाको दाना राम्रो फलेको भन्दै किसान रामबहादुर खड्काले अधिकांश किसानले बोट नै ठेक्कामा दिएका बताए । उनका अनुसार नयाँ सुन्तला बगैँचा बढिरहेकाले यहाँका किसानले वार्षिक ५० लाखका दरले उत्पादनमा वृद्धि गर्ने लक्ष्य लिएका छन् । सिगानामा १२ हजारभन्दा बढी सुन्तलाको बोटले उत्पादन दिइराखेका छन् भने ४० हजारभन्दा बढी नयाँ बिरुवा हुर्किरहेका छन् ।
सुन्तला जोन क्षेत्रमा समेटिएको सिगानामा छ वर्ष अघिदेखि व्यावसायिक सुन्तला खेती वृद्धिका लागि अन्य रुख फडानी गर्ने अभियान वडा कार्यालयले चलाएको थियो । अहिले प्रतिकिलो होलसेल मूल्य रु ५० देखि ६० का दरले बिक्री भइरहेको छ ।
सिगानाको बेसी, वडा कार्यालय क्षेत्र, बाँस्कोटलगायत स्थानमा अधिकांश जमिन सुन्तला खेतीले ढाकेको छ । सिगानासँगै बागलुङको बिहुँ, तित्याङ, भकुण्डे, लेखानी, सर्कुवा र दमेकलगायत स्थान सुन्तला खेतीका लागि उर्बर मानिन्छन् ।
जिल्लामा करिब पाँच हजार हेक्टरभन्दा बढी क्षेत्रफलमा सुन्तला खेती हुँदै आएको कृषि ज्ञान केन्द्र बागलुङका बागबानी विकास अधिकृत कुमार पुनले जानकारी दिए । उनका अनुसार समग्र जिल्लामा यस वर्ष रु २० करोडको सुन्तला उत्पादन भएको छ ।
Comments
अरु समाचार
-
रास्वपाले भनेको राजनीतिमुक्त न्यायालय यही हो ?
काठमाडाैं । अघिल्लो वर्षको भदौ २३ र २४ गते किन जेनजी आन्दोलन भयो ? जनताले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई १८२...
-
‘कुवाको पानी बाल्टिले तानी’ गीतले बटुल्दै दर्शक–श्रोताको माया
काठमाडौं। नेपाली लोकगीत सङ्गीतको क्षेत्रमा मौलिक शब्द र सिर्जनामार्फत आफ्नो पहिचान स्थापित गर्दै आउनुभएका गीतकार सरोज खड्का ‘निर्दोष’ को पछिल्लो...
-
आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर
काठमाडौँ । नेपाल राष्ट्र बैंकले मङ्गलबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको...
-
नवरात्रको तेस्रो दिनः चन्द्रघण्टा देवीको विशेष पूजा आराधना गरिँदै
काठमाडौँ । नवरात्रको तेस्रो दिन मङ्गलबार दसैँघर वा पूजा कोठामा नौ दुर्गामध्येकी तेस्रो चन्द्रघण्टा देवीको विधिपूर्वक पूजा आराधना गरिँदै छ...
-
‘निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश पनि आउँदैन’
काठमाडौं। निजामती कर्मचारीसम्बन्धी अध्यादेश आउन सक्ने आशंकाका कारण कर्मचारीहरूले राजीनामा दिने क्रम बढिरहेका बेला संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा...
-
चाडपर्व नजिकिएसँगै काठमाडौँमा ट्राफिक प्रहरीको बढ्यो सक्रियता
काठमाडौँ। दसैँ, तिहारलगायतका प्रमुख चाडपर्व नजिकिएसँगै काठमाडौँ उपत्यकामा ट्राफिक प्रहरीले आफ्नो सक्रियता थप बढाएको छ । चाडपर्वका समयमा सवारीसाधनको चाप...
-
चिनियाँ नागरिकबाट बरामद साढे २१ किलो सुन भन्सार कार्यालयमा बुझाइयो
काठमाडौं । चिनियाँ नागरिकबाट बरामद भएको साढे २१ किलो सुन प्रहरीले भन्सार कार्यालयमा बुझाएको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान...
-
प्रहरी अनुसन्धानलाई निष्पक्ष, तथ्यपरक, वैज्ञानिक र प्रविधिमैत्री बनाउन प्रविधिको सदुपयोग आवश्यक: प्रधानमन्त्री शाह
काठमाडौँ, असोज २६ गते । प्रधानमन्त्री वालेन्द्र शाहले प्रहरी अनुसन्धानलाई निष्पक्ष, तथ्यपरक, वैज्ञानिक र प्रविधिमैत्री बनाउन सूचना प्रविधिको प्रभावकारी सदुपयोग...
-
बडादसैँको दोस्रो दिन ब्रह्मचारिणीको पूजा गरिँदै
काठमाडौँ । बडादसैँको दोस्रो दिन सोमबार नवदुर्गामध्ये माता ब्रह्मचारिणी देवीको पूजाआराधना गरिँदै छ । ब्रह्मचारिणीको अर्थ ‘ब्रह्ममा लीन भएकी वा...












