ताजा समाचार

फुङलिङमा सुरक्षाकर्मी र नो केबलकार पक्षबीचको झडप २४ जना घाइते

काठमाडौं । ताप्लेजुङको फुङलिङमा शनिबार साँझ सुरक्षाकर्मी र नो केबलकार पक्षबीच भएको झडपमा सुरक्षाकर्मी र आन्दोलनकारी गरी २४ जना घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी नायव उपरिक्षक रवि रावलका अनुसार झडपमा १२ जना सुरक्षाकर्मी र १२ जना आन्दोलनकारी घाइते भएका छन् ।

घाइते मध्ये ३ जना आन्दोलनकारी र १ प्रहरीलाई थप उपचारका लागि जिल्ला बाहिर रेफर गरिएको छ । पाँच जना सुरक्षाकर्मीको जिल्ला अस्पतालमा उपचार भइरहेको डिएसपी रावलले जानकारी दिएका छन् । प्रहरीले अभद्र व्यवहार गरेको अभियोगमा १५ जनालाई पक्राउ गरेको छ । जसमा ४ जना महिला रहेका छन् ।

सुरक्षाकर्मीले राति आन्दोलनकारी बसेको घर तथा होटल लक्षित गरी घेरा हालेर धरपकड र कुटपिट जस्तो अमानवीय कार्य गरेको आन्दोलनरत पक्षका कृतिमान मादेनले जानकारी दिए ।

यता स्थानीय प्रशासनले आइतबार बिहान ५ बजेदेखि फुङलिङ र पाथीभरा क्षेत्रको काफ्ले पाटी र बलु डाँडा क्षेत्रमा चारकिल्ला तोकी निषेधाज्ञा जारी गरेको छ ।

गए राति नो केबलकार पक्षले फुङलिङमा आयोजना गरेको राँके जुलुस र प्रदर्शनपछि भएको झडपसँगै स्थिति तनावपूर्ण भएको हो । जिल्ला प्रशासनले निषेधाज्ञा जारी गरेसँगै ताप्लेजुङ सदरमुकाममा चहलपहल कम देखिएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org