जडीबुटी प्रशोधनको आवरणमा ‘संगठित अपराध’: नेपालको कानून र पर्यावरणको धज्जी
काठमाडाैं । नेपालको पहाडी र हिमाली भेगमा पाइने बहुमूल्य जडीबुटीलाई आर्थिक समृद्धिको मुख्य आधार मानिँदै आएको छ। तर, यही समृद्धिको नारालाई ढाल बनाएर विदेशी लगानीकर्ता र स्थानीय प्रशासनको अपवित्र मिलेमतोमा नेपालको राष्ट्रिय प्राकृतिक सम्पदामाथि भयावह लुट मच्चाइएको सनसनीपूर्ण तथ्य फेला परेको छ।
सुर्खेत र पर्वत जिल्लामा सञ्चालित चिनियाँ लगानीका तीनवटा ठूला जडीबुटी प्रशोधन उद्योगहरूले नेपालको सार्वभौम कानुन, वातावरणीय सुरक्षा, अध्यागमन नियम र श्रम मर्यादाको हुर्मत लिएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा विस्तृत उजुरी दर्ता भएको छ। २०८३ वैशाख १३ गते दर्ता भएको उक्त उजुरी र संकलित प्रमाणहरूले नेपालको वन क्षेत्र र नदी प्रणालीमाथि भइरहेको एउटा ठूलो ‘संगठित अपराध’ लाई उजागर गरेको छ।
५०० मिटरको मापदण्ड र धज्जी उडाउने संरचना
नेपाल सरकारले वन पैदावारमा आधारित उद्योग र वन क्षेत्रबीचको दूरी कायम गर्ने सम्बन्धमा २०७१ असोज ६ गते राजपत्रमा सूचना प्रकाशित गरी स्पष्ट र बाध्यात्मक मापदण्ड तोकेको छ। उक्त कानुनी व्यवस्था अनुसार, कुनै पनि जडीबुटी प्रशोधन केन्द्र नदी किनार, सार्वजनिक जमिन वा वनको सिमानाबाट कम्तीमा ५०० मिटर टाढा हुनुपर्छ।
तर, सुर्खेतको गुर्भाकोट र भेरिगङ्गामा सञ्चालित युव्यान बायोटेक्नोलोजी र सिन नङ बायोटेक तथा पर्वतको कुश्मामा सञ्चालित छिफु बायोटेक्नोलोजी ले राज्यको यो नियमलाई पूर्णतः इन्कार गरेका छन्। यी उद्योगहरूले प्राकृतिक बहाव क्षेत्र र नदीको बगरमै पक्की संरचना खडा गरी भारी मेसिनरी जडान गरेका छन्। अख्तियारमा परेको उजुरीमा भनिएको छ, “यी उद्योगहरू खोलासँगै टाँसिएर सञ्चालन हुनु भनेको राज्यको कानुनलाई खुल्ला चुनौती दिनु र वर्षायाममा खोलाको बहावलाई अवरोध गरी ठुलो वातावरणीय दुर्घटना निम्त्याउनु हो।”
जिल्ला वन कार्यालय, सर्खेतका जिल्ला वन अधिकृत राधाकृष्ण दासले उक्त उद्योग नदी किनारभन्दा पाँच सय मिटर टाढा हुनुपर्नेमा मापदण्डविपरीत रहेको स्वीकार गरेका छन्। न्यूज नेपालसँग शुक्रवार साँझ कुरा गर्दै डिएफओ दासले युव्यान बायोटेक्नोलोजीले आफ्नो कारखाना नदीकिनारमा जोडेरै स्थापना गरेको जानकारी आफूले पाएको र त्यसबारे छानबिन गरिरहेको बताए। उनले भने- ‘कानूनभन्दा कोही माथि छैन। मापदण्डविपरीत काम गर्न कसैले पाएँदैन।’
यो पनि पढ्नुहोस्ः
उता, स्थानीयवासीहरू भने उक्त चिनियाँ कम्पनीले नियामक निकाय र स्थानीय अधिकारीहरूलाई समेत प्रभावमा पारेको भनेर त्यसका सञ्चालकहरूले बताउने गरेको जनाएका छन्।
उनले आन्तरिक राजस्व कार्यालयले पाँचऔलेको पनि कारोबार गर्न अनुमति दिएको कागज पनि निजहरूसँग रहेको तर त्यस्तो कारोबार गरे नगरेको भन्नेबारे आफूलाई जानकारी नभएको जनाए।
वातावरणीय अपराध: रातिको सन्नाटामा नदीमा ‘विष’
यस प्रकरणको सबैभन्दा डरलाग्दो र घातक पक्ष औद्योगिक फोहोरको व्यवस्थापनमा देखिएको छ। स्थानीय प्रत्यक्षदर्शी र नागरिक समाजका अनुसार, यी उद्योगहरूले दिउँसोको समयमा आफ्नो फोहोर लुकाउने र रातिको सन्नाटामा प्रशोधनका क्रममा निस्कने अत्यन्तै घातक रासायनिक फोहोर, एसिडयुक्त पानी र विषाक्त लेदो सिधै नदीमा बगाउने गरेका छन्।
यस बदमासीका कारण भेरिगङ्गा, गुर्भाकोट र कुश्मा क्षेत्रका नदीहरूको इकोसिस्टम ध्वस्त भई माछा लगायतका जलचर प्राणीहरू सामूहिक रूपमा मरिरहेका छन्। उता, तल्लो तटीय क्षेत्रका बासिन्दाहरूले त्यही पानी सिँचाइ र आफ्ना पशुचौपायालाई खुवाउन प्रयोग गर्दै आएका छन्। रसायनयुक्त पानीका कारण पशुचौपाया मर्ने, सिँचाइ गरिएको खेतबारीको उत्पादन घट्ने र स्थानीय नागरिकमा दीर्घकालीन प्रकृतिका रोग तथा चर्मरोग (छालाको रोग) को जोखिम उच्च बनेको छ।
त्यस्तै, वन ऐन २०७६ को दफा २ (थ) ले रुख वा बुट्यानले ढाकेको क्षेत्रलाई वन स्पष्ट रूपमा परिभाषित गरेको छ। तर, यी उद्योगहरूले डिभिजन वन कार्यालयका कर्मचारीहरूसँगको “मौखिक सहजीकरण” का भरमा वन क्षेत्रभित्रै गैरकानुनी रूपमा कारखाना विस्तार गर्दा स्थानीय जैविक विविधता गम्भीर संकटमा परेको छ।
श्रम कानुनको उल्लङ्घन र राष्ट्रिय सुरक्षामा चुनौती
अख्तियारको ढोकामा पुगेको उजुरीले नेपालको श्रम बजार र अध्यागमन क्षेत्रको अर्को कालो पाटो पनि खोलेको छ। ती उद्योगहरूले नेपालको श्रम विभागबाट कुनै पनि कानुनी स्वीकृति वा श्रम इजाजत (Work Permit) नलिई दर्जनौँ चिनियाँ नागरिकहरूलाई ‘पर्यटकीय भिसा’ मा भित्र्याएर अवैध रूपमा प्राविधिक तथा प्रशासनिक काममा लगाएका छन्।
नेपालको श्रम कानुनले विदेशी नागरिकलाई काममा लगाउनुअघि अनिवार्य अनुमति लिनुपर्ने र नेपाली नागरिकले नसक्ने जटिल प्राविधिक काममा मात्र विदेशी राख्न पाइने व्यवस्था गरेको छ। तर, चिनियाँ नागरिकहरू वाङ सिफु र झेङ सिहोङको एकल लगानी रहेका यी उद्योगमा सामान्य मजदुरीदेखि उच्च व्यवस्थापकीय पदसम्म चिनियाँ नागरिककै दबदबा छ। एकातिर नेपाली युवाहरू वैदेशिक रोजगारीका लागि राहदानी बनाउन दिनरात लाइनमा बसिरहेका छन्, अर्कोतिर आफ्नै देशमा खुलेका उद्योगमा विदेशीहरूले अवैध रूपमा नेपालीको गाँस खोसिरहेका छन्, जसले नेपालको संवैधानिक हकलाई ठाडो चुनौती दिएको छ।
कर्मचारीतन्त्रको ‘मौनता’ कि ‘मोटो रकमको चलखेल’?
यो समग्र प्रकरणमा स्थानीय वन कार्यालय र प्रशासनका कर्मचारीहरूको भूमिका सबैभन्दा बढी शंकास्पद देखिएको छ। उजुरीकर्ताहरूले दाबी गरे अनुसार स्थानीय वन कार्यालयलाई यसबारे पटक-पटक मौखिक र लिखित जानकारी गराउँदा, एवं स्थानीयले ध्यानाकर्षण गराउँदा समेत “माथिको निकै ठूलो आदेश छ, हामीले केही गर्न सक्दैनौँ” भन्दै कर्मचारीहरू पन्छिने गरेका छन्। यसले यो सेटिङ जिल्लास्तरमा मात्र नभई केन्द्रको नीति निर्माण तहसम्म पुगेको र यसमा मोटो रकमको चलखेल भएको पुष्टि गर्छ।
जब ओखलढुङ्गाको हर्कपुरमा उस्तै प्रकृतिको अवैध काम गर्ने ‘चाइनिज होओचेङ बायोटेक्नोलोजी’ लाई २०८२ माघ २६ मा डिभिजन वन कार्यालयले तत्काल सिल गर्यो, तब सुर्खेत र पर्वतका यी उद्योगहरूले कुन शक्तिको आडमा उन्मुक्ति पाइरहेका छन्? यो प्रवृत्तिले कर्मचारीतन्त्रभित्रको चरम विभेद र नीतिगत भ्रष्टाचारको ठुलो जालो तर्फ संकेत गर्दछ।
अख्तियारको काँधमा गहन जिम्मेवारी
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पेश गरिएका विस्तृत फोटो, भिडियो प्रमाण र कम्पनीका आन्तरिक कागजातहरूले यो ‘अपवित्र नेक्सस’ लाई नाङ्गो पारिदिएको छ। उजुरीमा मापदण्ड विपरीतका तीनवटै उद्योगलाई तत्काल बन्द गरी मेसिनरी जफत गर्न, चिनियाँ सञ्चालकहरूको राहदानी र भिसा छानबिन गरी अध्यागमन ऐन अनुसार कारबाही गर्न र अवैध उद्योगलाई संरक्षण दिने डिभिजन वन कार्यालयका कर्मचारीहरूको सम्पत्ति छानबिन गर्न माग गरिएको छ।
विकास र विदेशी लगानीको नाममा देशमा विनाश र बेथिति भित्र्याउनु राष्ट्रिय सुरक्षाका लागि घातक हुन्छ। जडीबुटी प्रशोधन उद्योग स्थापना हुनु आफैँमा सकारात्मक भए पनि यसले देशको कानुन र वातावरणलाई कुल्चिन पाउँदैन। अब स्थानीय जनता र नागरिक समाजले समेत यी उद्योगहरू विरुद्ध कडा आन्दोलनको तयारी गरिरहेका छन्। अख्तियारले यस प्रकरणमा सूक्ष्म अनुसन्धान गरी यो वित्तीय तथा वातावरणीय सेटिङ भत्काउन सक्छ कि सक्दैन, त्यो नै अहिले जनचासोको मुख्य विषय बनेको छ।
Comments
अरु समाचार
-
लोकतान्त्रिक मूल्य सुदृढ बनाउन अग्रज नेताको आदर्श आत्मसात् गर्नुपर्छः पूर्वराष्ट्रपति भण्डारी
ललितपुर । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले लोकतान्त्रिक मूल्यमान्यता, नैतिकता, सुशासन र जनउत्तरदायित्वलाई सुदृढ बनाउन अग्रज राजनीतिक व्यक्तित्वहरूको आदर्शलाई आत्मसात् गर्न आवश्यक...
-
आम्दानी र सिट उपयोगितामा सुधार, निगमलाई आत्मनिर्भर बनाउने तयारी
काठमाडाैं । नेपाल वायुसेवा निगमले नयाँ नेतृत्व पाएसँगै संस्थागत सुधारका कामले गति लिन थालेको जनाएको छ। व्यवस्थापकीय सुधार, कार्यसम्पादनमा जवाफदेहिता...
-
BREAKING: एमाले उपाध्यक्ष विष्णु पाैडेल पक्राउ
काठमाडाैं। नेकपा एमालेका उपाध्यक्ष विष्णु पाैडेललाई सम्पत्ति शुद्धिकरण विभागले पक्राउ गरेको छ। एमाले उपाध्यक्ष पाैडेललाई विभागले सम्पत्ति शुद्धिकरणको अभियोगमा अनुसन्धानका...
-
व्यवसायिक कारोबारलाई अपराधीकरण गर्दै राज्यले प्रतिशोधपूर्ण ढंगले प्रस्तुत गर्योः दीपक भट्ट
काठमाडौं । सम्पत्ति शुद्धीकरण तथा धितोपत्र कारोबारसँग सम्बन्धित अनुसन्धानमा मुछिएका व्यवसायी दीपक भट्टले आफूविरुद्ध लगाइएका आरोपहरू अस्वीकार गर्दै राज्य निकायले...
-
दीपक भट्ट, सुलभ अग्रवाल, शेखर गोल्छालगायत विरुद्ध के विषयमा भयो मुद्धा दायर ?
काठमाण्डौ । सम्पत्ति शुद्धीकरण विभाग र केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) को अनुसन्धानमा रहेका दीपक भट्ट, सुलभ अग्रवाल, शेखर गोल्छा लगायतविरूद्ध...
-
पोखरामा पञ्चासे जोड्ने आधुनिक पहुँच मार्ग र साइकल ट्र्याक निर्माण परियोजना अघि बढ्ने
पोखरा । पोखरा महानगरपालिकाले पर्यटन प्रवर्द्धन, दिगो शहरी यातायात र वातावरणमैत्री पूर्वाधार विकासलाई लक्षित गर्दै नयाँ महत्वपूर्ण परियोजना अघि बढाउने...
-
भुटानी शरणार्थी प्रकरणमा केपी ओली र आरजु राणालाई जोड्ने प्रयास कानुनी प्रक्रियाको उपहास र न्यायिक स्टन्ट
काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पछिल्लो समय एमाले अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसकी नेत्री डा. आरजु राणा...
-
दीपक भट्टविरुद्ध २२ अर्ब ३९ करोड ६६ लाख रुपैयाँ बिगो दाबी सम्पत्ति शुद्धिकरण मुद्दा दर्ता शुरु
काठमाडौं । २२ अर्ब ३९ करोड ६६ लाख रुपैयाँ बराबरको बिगो दाबी गर्दै दीपक भट्टसमेत ३९ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचारसम्बन्धी...
-
२५ अर्बको दाबी सहित दीपक भट्टविरुद्ध मुद्दा दर्ता आज, अब दीपक तिमिल्सिनाको पालो कहिले?
काठमाडौं । लामो समयदेखि राजनीतिक तथा व्यावसायिक वृत्तमा प्रभावशाली ‘फिक्सर’ र बिचौलियाका रूपमा चिनिएका व्यवसायी दीपक भट्टविरुद्ध सम्पत्ति शुद्धीकरण अनुसन्धान...












