झाँङ्गिदो मदिरा संस्कारले सुरक्षा र स्वास्थ्यमा चुनौती
म्याग्दी, १६ भदौ । यसैवर्ष साउन २१ गते बेनपा १ रत्नेचौर धिमालथरस्थित आफ्नै घरबाट बेपत्ता भएका ५१ वर्षिय मिनबहादुर राना तीन दिनपछि मृत अवस्थामा फेला परे । घर नजिकैको मकैबारीमा साउन २३ गते बिहान घाँटीमा गहिरो चोट रहेको अवस्थामा फेला परेको रोकाको शव नजिकै खुकुरी पनि थियो ।
घटनाको प्रकृतिबाट हत्या अनुमान गरेको प्रहरीले थप अनुसन्धानबाट फरक तथ्य फेला पा¥यो । ‘घरपरिवार, आफन्तको भनाइ र अन्य तथ्यहरुको अनुसन्धान गर्दा रानाले आत्महत्या गरेको पाइयो,’ जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक लोकेन्द्र सिङ गुरुले भन्नुभयो – ‘उनले आत्महत्या गर्नुको मुख्य कारण अत्यधिक मदिरा सेवन हो ।’
साउन २१ गते राति १२ बजेसम्म आफन्तकोमा मदिरा सेवन गरी घरमा आएर सुतेका भारतीय सेनाका भूपू समेत रहेका राना बिहान कोठामा नभेटिएपछि स्थानीयवासीले प्रहरीलाई खबर गर्नुका साथै खोजी गरेका थिए । सिरानीमा खुकुरी राखेर सुत्ने उनले मानसिक समस्या देखिएपछि यसअघि पनि आत्महत्याको प्रयास गरेका बताइन्छ ।
मदिराको सेवनले मानिस आफ्नै ज्यान लिनेसम्मको गतिविधि गर्न पछि पर्दैनन् भन्ने यो त एउटा उदाहरण मात्रै हो । मदिराको अव्यवस्थित बिक्री वितरण र अत्यधिक सेवनका कारण अपराध र हिंसा बढेको मात्र छैन, स्वयम् व्यक्तिको स्वास्थ्य, परिवार र समाजमा समस्या पनि उत्पन्न भएको छ ।
जिल्ला प्रहरी कार्यालय म्याग्दीमा पछिल्लो दुई आर्थिक वर्षमा दर्ता भएका करिब तीन सय मुद्दामध्ये अधिकांश मदिरासँग जोडिएको अनुसन्धानमा खटिएका प्रहरी अधिकृतहरुको भनाइ छ । सार्वजनिक अपराध, घरेलु हिंसा, बलात्कार, आत्महत्या, कुटपिट, भवितब्य ज्यान, फुटकर ज्यानलगायत घटनाका कारण मदिरासँग जोडिने गरेको प्रहरी निरीक्षक गुरुले बताउनुभयो ।
‘झगडा, सार्वजनिक अपराध, कुटपिट, घरेलु हिंसा र जबर्जस्ती करणीको घटना हुनुको पछाडि मदिरा सेवन प्रमुख रुपमा देखिन्छ,’ निरीक्षक गुरुले भन्नुभयो । आर्थिक वर्ष २०७२७३ मा ३० वटा घरेलु हिंसा, सात वटा जबर्जस्ती करणी र २६ वटा सार्वजनिक अपराधसम्बन्धी मुद्दा प्रहरीमा दर्ता भएका थिए ।
मदिराको नशाले मानिसलाई उत्तेजित र अपराध गर्ने तहसम्म उद्वेलित गर्ने गरेको पाइन्छ । सुरक्षा अधिकारीहरु मेला, जात्रा र मदिरा म्याग्दीको प्रमुख सुरक्षा चुनौती भएको बताउँछन् ।
मदिराको नशाले छुँदै जाँदा मानिसमा आफू शक्तिशाली र सर्वमान्य भएको भावना जाग्ने, कसैको डर नमान्ने, अनावश्यक कुराहरु बोल्ने, निहुँ खोजेर झगडा गर्ने अवस्थामा पु¥याउने गरेको चिकित्सकहरु बताउँछन् । इथेनोल र मिथेनोल तत्वको प्रभावले मदिरा सेवन गरेको मानिस अनियन्त्रित भई अस्वाभाविक गतिविधि गर्ने हुन्छ । कतिपय मानिसहरु मदिरा सेवन गरेर बेहोस भई अस्पतालसम्म उपचार गराउन आउने गरेको जिल्ला अस्पताल म्याग्दीमा कार्यरत डा अजयराज गौतमले बताउनुभयो ।
‘मदिरा सेवनले स्वास्थ्यमा तत्कालीन र दीर्घकालीन दुवै किसिमको असर गर्छ,’ डा गौतमले भन्नुभयो – ‘ग्यास्ट्रिक, एसाइटिस, उच्च रक्तचाप, हेपाइटाइटीस, कमलपित्त, मधुमेह, पक्षघात, कलेजोको क्यान्सर हुनुको मुख्य कारण मदिरा सेवन नै हो ।’
मदिराले सबैभन्दा पहिले कलेजोमा सङ्क्रमण निम्त्याउने, पछि सबै अङ्गहरुमा असर गर्दै ज्यानै लिने डा गौतमको भनाइ छ । म्याग्दीमा मदिरा सेवनका कारण स्वास्थ्य समस्या उत्पन्न भएर उपचारका लागि अस्पतालमा आउने बिरामीहरुको सङ्ख्या बढिरहेको चिकित्सक गौतमले बताउनुभयो ।
उहाँका अनुसार बढी मात्रामा विपन्न, शिक्षाको पहुँच नपुगेका र दुर्गम क्षेत्रका साथै महिलाहरु पनि अत्यधिक मदिरा सेवनका कारण उत्पन्न स्वास्थ्य समस्याबाट पीडित छन् । मदिरा सेवन गरेर सवारी चलाउँदा दुर्घटना भएको, यात्रा गर्ने क्रममा भिरबाट लडेर ज्यान जाने, घाइते, अपाङ्गता हुनेहरुको सङ्ख्या पनि उत्तिकै छ ।
मदिराको लतले मानिसको स्वास्थ्यका साथै पारिवारिक कलह, महिला हिंसा, साथीभाइसँग सम्बन्ध बिग्रने मात्र नभई आर्थिक हानी नोक्सानी पनि उत्तिकै हुने गरेको छ । समाजमा ज्याला मजदुरी गरेर कमाएकोदेखि बाबुबाजेले जोडेका पुख्र्यौली सम्पत्ति मदिरामै सिध्याउनेहरु पनि यदाकदा भेटिन्छन् ।
मदिरा उत्पादन गर्ने राष्ट्रिय स्तरका कम्पनीहरुको जिल्लामा रहेका डिलरहरुका अनुसार आर्थिक वर्ष २०७२७३ मा म्याग्दीमा तीस करोड रुपैयाँभन्दा बढीको मदिरा भित्रिएको छ । सदरमुकाम बेनीमा छ वटा डिलर र दुई वटा होलसेल बिक्रेताहरु छन् ।
यसैगरी, बागलुङका दुई वटा डिलरले पनि म्याग्दीमा मदिराको कारोबार गर्दै आएका छन् । पर्यटकीय क्षेत्र घोडेपानी, भुरुङ तातोपानी, दाना लगायतका ठाउँका साथै बेनीका केही होटलमा पोखरा, काठमाडौँबाट विदेशी कम्पनीका विभिन्न ब्रान्डका मदिराहरु भित्र्ने गरेको व्यवसायीहरु बताउँछन् । कम अल्कोहलको मात्रा हुने बियरको खपत जिल्लामा बढी मात्रामा हुने गरेको छ । यहाँ वार्षिक पन्ध्रदेखि बीस करोड रुपैयाँ बराबरको बियर बिक्री हुने गरेको बिक्रेताहरु बताउँछन् ।
गोर्खा ब्रुअरी कम्पनीको अधिकृत बिक्रेता मुक्तिनाथ इन्टरप्राइजेजका सञ्चालक तारानाथ रेग्मीले दसैं तिहार जस्ता ठूला चाड तथा मेलाजात्रा हुने असोज÷कात्तिक महिनामा बियरको बढी बिक्री हुने गरेको बताउनुभयो । एउटा डिलर तथा होलसेल व्यापारीले वर्षमा पचास लाखदेखि साढे दश करोड रुपैयाँसम्मको मदिरा बिक्री भएको जनाएका छन् ।
विभिन्न कम्पनीको ‘ब्ल्याक’ र ‘रेड’ लेभलका मदिराको डिलर रहेको श्रेया इन्टरप्राइजेजका सञ्चालक राजन श्रेष्ठ जिल्लामा मदिराको उपभोक्तासँगै व्यापार विस्तार र कारोबार बढ्दो क्रममा रहेको बताउनुहुन्छ । म्याग्दीमा न्यूनतम २५ रुपैयाँ प्रतिबोतल मूल्य पर्नेदेखि प्रतिबोतल सात हजार पाँच सय रुपैयाँ पर्ने ब्रान्ड अनुसारको मदिराको व्यापार हुन्छ । उद्योगी, व्यापारी, कर्मचारी, वैदेशिक रोजगारीबाट फर्किएका, भूपू सैनिक, जागीरे युवादेखि मजदुर, कृषक सबै वर्ग र समुदायमा मदिरा संस्कार झाँङ्गिदो छ ।
मगर, थकाली, गुरुङ, छन्त्याल समुदायको संस्कारगत कार्य र चाडपर्वमा घरेलु मदिरालाई प्रसादको रुपमा देवता तथा पितृलाई चढाउने चलन छ । मतवाली समुदायमा मदिराको उपभोग परम्परागत हिसाबले छुट छ । छोरीचेली माइत भेट्न मदिरा लिएर जाने चलन छ । अन्य समुदायका व्यक्तिहरु पनि मदिरा प्रेमबाट टाढा छैनन् ।
आयातितको तुलनामा म्याग्दीमा उत्पादन हुने घरेलु मदिराको माग बढी हुने गरेको होटल तथा रेष्टुराँ व्यवसायी सङ्घले जनाएको छ । कानुनले प्रतिबन्ध लगाएपनि घरेलु मदिराको उत्पादन र जाँड बनाउन प्रयोग हुने मर्चाको व्यापार भित्रभित्रै चलीरहेको छ । म्याग्दीमा उत्पादन हुने कोदो, गहुँ र उवा मदिरा बनाउन जिल्ला बाहिर समेत निकासी हुने गरेको छ ।
सरकारले मदिरा र सुर्तीजन्य पदार्थको कारोबार गर्न कोष तथा लेखा नियन्त्रणको कार्यालयबाट अनुमति लिनुपर्ने र वार्षिक रुपमा नवीकरण गर्नुपर्ने नियम बनाएको छ । चालु आर्थिक वर्षका लागि जिल्लामा मदिरा तथा सुर्तीजन्य पदार्थको कारोबारका लागि भदौ १० गतेसम्म पुरानो इजाजत नवीकरण तथा नयाँ लिनेको सङ्ख्या १७८ रहेको कोष तथा लेखा नियन्त्रक युवराज पौडेलले बताउनुभयो । मदिराको करोबारका लागि नयाँ इजाजत जारी र नवीकरण वापत आठ लाख ९४ हजार ३७५ तथा सुर्तीको इजाजत जारी गरेवापत ९० हजार रुपैयाँ राजस्व सङ्कलन भएको छ । रासस
Comments
अरु समाचार
-
आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमयदर
काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको...
-
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलोपटक ‘फ्लाई दुबई विमान’अवतरण, गरियो भव्य स्वागत
काठमाडौं । पहिलो पटक पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएको 'फ्लाई दुबई विमान' लाई भव्य स्वागत गरिएको छ । असोज ७...
-
फेसबुक र इन्स्टाग्राममा ठगीविरुद्ध मेटाको अभियान, ३७ लाखभन्दा बढीमाथि कारबाही
सिङ्गापुर । सामाजिक सञ्जाल कम्पनी मेटाले सिंगापुर प्रहरीबाट प्राप्त सूचनाका आधारमा यस वर्ष अहिलेसम्म ठगीसँग सम्बन्धित ३७ लाखभन्दा बढी अकाउन्ट,...
-
बाढी पीडितलाई विद्युत महसुलमा राहत, न्यूनतम बिलिङदेखि निःशुल्क मिटरसमेत
काठमाडौं। सरकारले बहालवाला सुरक्षाकर्मीहरूलाई जलविद्युत् आयोजनाको प्राथमिक शेयर (आईपीओ) मा २ प्रतिशत सहभागिता सुनिश्चित गर्ने कानुनी व्यवस्था मिलाउन प्रक्रिया अघि...
-
भृकुटीमण्डपमा ‘यामाहा ब्लु फेस्ट’: १० लाखसम्म क्यासब्याकदेखि अन–द–स्पट फाइनान्सिङसम्म
काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा यही असोज १० गते शनिबारसम्म यामाहाको ‘ब्लु फेस्ट’ सञ्चालन हुँदैछ। नेपालका लागि आधिकारिक वितरक MDW राइड्स...
-
पासपोर्ट छपाइका लागि भएको ठेक्कापट्टा कानुनसम्मत: सर्वोच्च अदालत
काठमाडौं । राहदानी विभागबाट पासपोर्ट छपाइका लागि भएको ठेक्कापट्टा कानुनसम्मत रहेको सर्वोच्च अदालतले ठहर गरेको छ । न्यायाधीशहरू कुमार रेग्मी...
-
आज किन स्थगित गरियो नियमित सेयर कारोबार ?
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले आज (सोमबार) को नियमित सेयर कारोबार स्थगित गरेको छ । नेप्सेका अनुसार ७२...
-
‘आरोहणको तयारी गर्दैगर्दा हिम पहिरो गएको त्यो क्षण’
गोरखा । मनास्लु हिमालको तेस्रो शिविरमा गएको हिमपहिरोमा परी दुई जनाको मृत्यु भएको घटना यस वर्षको आरोहण सिजनमा हिमाली पर्यटनको...
-
आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमयदर
काठमाडौँ। नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर...












