बाबुराम र उपेन्द्र यादव एक भएर सरकार समक्ष राखे ६ माग
काठमाडौं । नयाँ शक्ति नेपाल र संघीय समाजवादी फोरम, नेपालले ६ बूंदे माग राखेका छन् । नयाँ शक्तिका संयोजक डा.बाबुराम भट्टराई र फोरमका अध्यक्ष उपेन्द्र यादवबीच भएको भेटपछि उनीहरुले संयुक्त विज्ञप्ति जारी गर्दै माग प्रस्तुत गरेका हुन् ।
यी दुई पार्टीले व्यवस्थापिका संसदमा दर्ता गरिएको संविधान संशोधन प्रस्ताव परिमार्जन सहित पारित गर्न, सङ्घीयता कार्यान्वयनका लागि संघ र प्रदेशको निर्वाचन पहिला गराइन, प्रदेश मातहत स्वायत्त क्षेत्र, संरक्षित क्षेत्र र विशेष क्षेत्रको सङ्ख्या र सीमा निर्धारण गरी बाँकी भूगोललाई जनसङ्ख्याको आधारमा स्थानीय तह बनाउन माग गरेका छन् ।
यस्तै स्थानीय तह प्रदेश मातहत रहनु पर्दछ र यसको निर्वाचन प्रदेशले गराउने व्यवस्था गर्न, राजनीतिक दलहरूको भागवण्डा र सत्ता स्वार्थको आधारमा घोषणा गरिएको स्थानीय निर्वाचनको मिति फिर्ता लिन, देशमा राजनीतिक स्थीरताका लागि प्रत्यक्ष निर्वाचित कार्यकारीको व्यवस्था गर्दै सङ्घीय संसदको निर्वाचन पूर्ण समानुपातिक निर्वाचन प्रणालीका आधारमा हुनु पर्ने माग गरिएको छ ।
‘राज्यका अंगहरुमा दलीय भागवण्डाका आधारमा नियुक्तिको प्रचलनलाई खारेज गर्नु पर्दछ र शिक्षा, स्वास्थ्य, सुरक्षाका अङ्ग, कुटनीतिक क्षेत्र जस्ता विषयहरूमा भागवण्डाको राजनीति अन्त्य गर्नु पर्दछ ।’ मागमा भनिएको छ ।
पढ्नुहोस् विज्ञप्तिको पूर्ण पाठ
___________________
पार्टी संयुक्त प्रेस विज्ञप्ति
नेपाल लामो समयदेखि सङ्क्रमणकालबाट गुज्रिरहेको छ । देशले राजनीतिक स्थीरता, शान्ति र आर्थिक समृद्धि हासिल गर्न सकेको छैन । समकालीन विश्वमा हाम्रा छिमेकी मुलुकहरूले एक पछि अर्को विकासका सिँढी चढ्दै गर्दा हामी भने अझै राजनीतिक गतिरोध समेत अन्त्य गर्न सकिरहेका छैनौँ । देशमा राजनीतिक क्रान्तिले अझै पूर्णता प्राप्त गर्न सकेको छैन । देशमा पटक पटक भएको जनआन्दोलन, जनयुद्ध, मधेस जनविद्रोह, आदिवासी जनजाति, खस, शिल्पी लगायतका उत्पीडित समुदायले गरेको आन्दोलनको परिणाम स्वरूप केही महत्त्वपूर्ण परिवर्तनहरू भएका छन् । ती उपलब्धीहरूलाई संस्थागत गर्दै थप उपलब्धी हासिल गर्न हामी अग्रसर हुनु पर्दछ । यसरी मात्र हामीले राजनीतिक परिवर्तनलाई पूर्णता दिएर समृद्धिको दिशामा जान सक्दछौँ । त्यसका लागि वर्तमान संविधान जारी भएदेखि देशमा देखा परेको राजनीतिक गतिरोधलाई अन्त्य गर्न संविधानका त्रुटीहरुलाई सच्याउने र मुद्दाहरुलाई सम्बोधन गरी संविधान संशोधन र परिमार्जनको माध्यमबाट यसलाई सर्वस्वीकार्य बनाउनु पर्दछ भन्ने कुरामा हामी दुई पार्टीको साझा धारणा रहेको छ ।
यसै सन्दर्भमा आन्दोलनरत पक्षसँग सहमतिको आधारमा सङ्घ र प्रदेशको निर्वाचन गराई आन्दोलनका उपलब्धीहरूलाई संस्थागत गर्नु पर्दछ । तर वर्तमान सरकारले व्यवस्थापिका संसदमा आफैंले दर्ता गराएको संविधान संशोधन प्रस्तावलाई समेत सहमतिका आधारमा परिमार्जन सहित पारित नगरी २०७४ साल बैशाख ३१ गते स्थानीय निर्वाचन घोषणा गरेको छ । यसले देशमा द्वन्द्व मात्र बढाएको नभई देशलाई झनै अस्थीरता र अनिश्चितताको दिशामा लगेको छ । हालै घोषणा गरिएको स्थानीय तहको निर्वाचनको अहिलेसम्म संरचना समेत बनेको छैन र ती संरचनाहरू कानुनी रूपमा अस्तित्वमा समेत आएको छैन । हालै गाउँपालिका, नगरपालिका, विशेष क्षेत्र, स्वायत्त क्षेत्र र संरक्षित क्षेत्रको सीमा तथा सङ्ख्या निर्धारण आयोगले बुझाएको प्रतिवेदनमा स्थानीय तहको मात्र सीमा र सङ्ख्या निर्धारण गरेको छ । त्यसले संविधानमा व्यवस्था भएको स्वायत्त क्षेत्र, संरक्षित क्षेत्र र विशेष क्षेत्रको सङ्ख्या र सीमा निर्धारण नै गरेको छैन । त्यसैले यो प्रतिवेदन अधुरो र अपुरो मात्र होइन अवैज्ञानिक र विभेदकारी समेत रहेको छ । यसका निम्ति सरकारले यथाशीघ्र निम्न कार्यहरू गर्नु पर्दछः
१. व्यवस्थापिका संसदमा दर्ता गरिएको संविधान संशोधन प्रस्ताव परिमार्जन सहित पारित गर्नु पर्दछ ।
२. सङ्घीयता कार्यान्वयनका लागि सङ्घ र प्रदेशको निर्वाचन पहिला गराइनु पर्दछ ।
३. प्रदेश मातहत स्वायत्त क्षेत्र, संरक्षित क्षेत्र र विशेष क्षेत्रको सङ्ख्या र सीमा निर्धारण गरी बाँकी भूगोललाई जनसङ्ख्याको आधारमा स्थानीय तह बनाइनु पर्दछ ।
४. स्थानीय तह प्रदेश मातहत रहनु पर्दछ र यसको निर्वाचन प्रदेशले गराउने व्यवस्था गर्नु पर्दछ । राजनीतिक दलहरूको भागवण्डा र सत्ता स्वार्थको आधारमा घोषणा गरिएको स्थानीय निर्वाचनको मिति फिर्ता लिनु पर्दछ ।
५. देशमा राजनीतिक स्थीरताका लागि प्रत्यक्ष निर्वाचित कार्यकारीको व्यवस्था गर्नु पर्दछ । सङ्घीय संसदको निर्वाचन पूर्ण समानुपातिक निर्वाचन प्रणालीका आधारमा गर्नु पर्दछ ।
६. राज्यका अंगहरुमा दलीय भागवण्डाका आधारमा नियुक्तिको प्रचलनलाई खारेज गर्नु पर्दछ र शिक्षा, स्वास्थ्य, सुरक्षाका अङ्ग, कुटनीतिक क्षेत्र जस्ता विषयहरूमा भागवण्डाको राजनीति अन्त्य गर्नु पर्दछ ।
उपरोक्त मान्यताहरूको आधारमा देशलाई अग्रगामी परिवर्तनको दिशामा लानका लागि सङ्घीय गठबन्धन र संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाद्वारा जारी आन्दोलनलाई समर्थन गर्दै संयुक्त राष्ट्रिय आन्दोलनको आवश्यकताको हामीले महसुस गरेका छौँ । यसमा सहमत हुने सबै राजनीतिक दल तथा शक्तिहरूलाई सहकार्यका लागि हामी हार्दिक अनुरोध गर्दछौँ ।
–––––––––––––––
उपेन्द यादव
अध्यक्ष, सङ्घीय समाजवादी फोरम, नेपाल
–––––––––––––––
डा. बाबुराम भट्टराई
संयोजक, नयाँ शक्ति पार्टी, नेपाल
यो पनि पढ्नुहोस् ।
http://news-nepal.com/%E0%A4%AC%E0%A4%BE%E0%A4%AC%E0%A5%81%E0%A4%B0%E0%A4%BE%E0%A4%AE-%E0%A4%AD%E0%A4%9F%E0%A5%8D%E0%A4%9F%E0%A4%B0%E0%A4%BE%E0%A4%88%E0%A4%B2%E0%A5%87-%E0%A4%97%E0%A4%B0%E0%A5%87%E0%A4%95%E0%A4%BE/
Comments
अरु समाचार
-
उज्ज्वल राम घिमिरेद्वारा डीएलए काठमाडौं अध्यक्ष पदमा उम्मेदवारी घोषणा
काठमाडौं । डेमोक्रेटिक लयर्स एसोसिएसन (डीएलए) काठमाडौंमा आगामी नेतृत्व चयन प्रक्रियाअन्तर्गत उज्ज्वल राम घिमिरेले अध्यक्ष पदका लागि आफ्नो उम्मेदवारी घोषणा...
-
नेपालकै इतिहासमा सबैभन्दा ठूलो वित्तीय अपराधको छानबिन भइरहेको छः अर्थमन्त्री वाग्ले
काठमाडौँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले इतिहासकै सबैभन्दा ठुलो वित्तीय अपराधका बारेमा छानबिन अघि बढिरहेको अवस्थामा सरकारमाथि नियोजित रूपमा हिलो...
-
डिजिटल सेवामा समान पहुँचका लागि सहज बन्दै सरकारी वेबसाइट
काठमाडौँ। सरकारी निकायका वेबसाइटलाई सबै नागरिकका लागि सहज र समावेशी बनाउन पहुँचमैत्री उपकरण समावेश गरिएका छन् । दृष्टिविहीन, न्यून दृष्टि...
-
प्रधानमन्त्री शाहले पुनर्गठन गरे मन्त्रिमण्डल, मन्त्रीको सूची यस्तो
काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहले मन्त्रिमण्डल पुनर्गठन गरेका छन्। मङ्गलबार प्रधानमन्त्री शाहले दुई मन्त्री थप्दै मन्त्रिमण्डल पुनर्गठन गरेका हुन्।...
-
ओलीको सम्बोधनले किन तान्यो राष्ट्रिय ध्यान ?
काठमाडौं । संसद्को निर्वाचनपछिको पहिलो सार्वजनिक सम्बोधनमा केपी ओलीले केवल पार्टीगत विषयमा मात्र नभई राष्ट्रिय राजनीति, नेतृत्व, लोकतान्त्रिक संस्थाहरू, राष्ट्रिय...
-
रास्वपा सभापति लामिछानेले बोलाएको सर्वदलीय बैठकमा गगन थापा नजाने
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले बोलाएको सर्वदलीय बैठकमा नेपाली कांग्रेसका सभापति गगनकुमार थापा नजाने भएका छन्...
-
प्रतिनिधि सभा बैठकमा आज बजेटमाथि छलफल हुने कार्यसूची
काठमाडौँ । सङ्घीय संसद्अन्तर्गत प्रतिनिधि सभाको बैठक आज बिहान ११ बजेदेखि बस्दैछ । आजको बैठकमा आगामी आर्थिक वर्षका लागि प्रस्तावित...
-
यस्तो छ आज विदेशी मुद्राको भाउ
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (सोमबार) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी...
-
रास्वपा सभापति रवि लामिछानेको आह्वानमा आज सर्वदलीय बैठक
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले समसामयिक राजनीतिक विषयमा छलफल गर्न सर्वदलीय बैठक बोलाएका छन् । उनले...












