नेपाल लगानी सम्मेलन सुरु
काठमाडौँ, १९ फागुन । प्रधानमन्त्री पुष्पकमल दाहालले मुलुकको आर्थिक समृद्धिका लागि वैदेशिक लगानी भित्र्याउन आवश्यक रहेको र यसको उपयुक्त वातावरण बनाउन सबैको एकमत रहेको बताउनुभएको छ ।
‘नेपाल लगानी सम्मेलन’को आज यहाँ उद्घाटन गर्दै उहाँले सरकार वैदेशिक लगानीका लागि उपयुक्त वातावरण बनाउन हरसम्भव प्रयासमा लागेको छ भन्नुभयो ।
शान्ति र समृद्धि एक अर्काका परिपूरक भएको बताउँदै प्रधानमन्त्री दाहालले नेपाललाई वैदेशिक लगानीको गन्तव्य बनाउनका लागि सम्मेलन आयोजना गरिएको उल्लेख गर्नुभयो ।
राजनीतिक स्थायित्व र राजनीतिक दलबीचमा सहज अवस्था भएमात्र निजी क्षेत्रका लागि उपयुक्त अवसर हुने बताउँदै उहाँले नीति तथा नियम एवम् वातावरणलाई उपयुक्त बनाउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
उद्योग मन्त्रालय र लगानी बोर्डको संयुक्त आयोजना तथा राष्ट्रिय योजना आयोग र निजी क्षेत्रको सहयोगमा लगानी सम्मेलन २०१७ आजदेखि यहाँ सुरु भएको हो ।
कार्यक्रममा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले उदार अर्थतन्त्रमा विश्वास राख्नेलाई नेपालमा लगानी गर्न आह्वान गर्दै अन्तर्राष्ट्रिय लगानीकर्तासँग सहकार्य गरेर मुलुकका सम्भावित क्षेत्रलाई अगाडि बढाउन सकिने बताउनुभयो ।
नेपालका दुई ठूला छिमेकी मुलुकसँग सहकार्य गरेर पर्यटन प्रवद्र्धनलाई अगाडि बढाउने बताउँदै उहाँले त्यसमा सरकारले पहल गर्ने बताउनुभयो । नेपाल अन्तर्राष्ट्रिय लगानीका लागि उपयुक्त अवसर भएको बताउँदै उहाँले सम्मेलनले नेपालमा लगानीका लागि उभार ल्याउने विश्वास व्यक्त गर्नुभयो ।
दोस्रो चरणको आर्थिक रुपान्तरणलाई अगाडि बढाएर आर्थिक लगानी र पुँजीलाई सुरक्षित गर्न सकिने बताउँदै सभापति देउवाले निजी क्षेत्रलाई प्रथमिकताका साथ अगाडि बढाउने नीति रहेको जानकारी गराउनुभयो ।
नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले लगानीको वातावरण बनाउनका लागि आफूहरु प्रतिबद्ध रहेको बताउनुभयो । उहाँले प्रमुख विपक्षी दलका नेताका रुपमा आफूले मुलुकको आर्थिक समृद्धिका लागि उपयुक्त वातावरण बनाउन पहल गर्ने बताउनुभयो । उहाँले मुलुकको आर्थिक विकासका लागि सबैको सहयोग आवश्यक छ भन्नुभयो ।
उपप्रधान तथा अर्थमन्त्री कृष्णबहादुर महराले मुलुकको आर्थिक विकासका लागि धेरै लगानीका क्षेत्र रहेको उल्लेख गर्दै त्यस क्षेत्रमा लगानी गर्न आह्वान गर्नुभयो । उहाँले सरकारले लगानीका लागि सबै वातावरण बनाउने उल्लेख गर्दै निरन्तर ऊर्जाको व्यवस्था गर्ने र नीतिगत व्यवस्था गर्ने आश्वस्त पार्नुभयो । सरकारले परियोजना बैंक बनाएर लगानी छनोट गर्ने अवसर सिर्जना गरेको उल्लेख गर्दै उहाँले लगानीका लागि सबै क्षेत्रमा सहजीकरण गर्न सरकार तयार रहेको प्रतिबद्धता व्यक्त गर्नुभयो ।
कार्यक्रममा उद्योगमन्त्री नवीन्द्रराज जोशीले सम्मेलनबाट नेपालले लाखौँ युवाका लागि रोजगारीका अवसर सिर्जना गर्नुपर्छ भन्ने सपना पूरा हुने बताउनुभयो ।
सम्मेलनका सहभागीलाई स्वागत गर्दै उहाँले नेपालमा लगानीका लागि थुप्रै सम्भावना रहेको उल्लेख गर्दै जलविद्युत्, कृषि, पर्यटनलगायतका क्षेत्रमा लगानी गरी तुलनात्मक लाभ लिन आह्वान गर्नुभयो ।
लगानीका लागि आवश्यक पर्ने सबै पूर्वाधार तयार गरेको उल्लेख गर्दै उद्योगमन्त्री जोशीले लगानीकर्तालाई लगानी गरेकै मुद्रामा मुनाफा लैजान दिने र उद्योग स्थापना तथा खारेजीको वातावरण बनाउने बताउनुभयो ।
पूर्व अर्थमन्त्री डा रामशरण महतले नेपालमा प्रजातन्त्रको पुनःस्थापनासँगै अर्थतन्त्रमा उदारता अपनाइएको उल्लेख गर्दै उदार राजनीतिक व्यवस्थासँगै मुलुकका सबै क्षेत्रको रुपान्तरण भएको बताउनुभयो ।
उहाँले प्रजातन्त्रको स्थापनासँगै शिक्षा, स्वास्थ्य, सामाजिक क्षेत्र, पूर्वाधार विकासमा लगानी वृद्धि हुनु र गरिबी निवारणका कार्यक्रमलाई अगाडि बढाइएको र त्यसले जनताको जीवनस्तर सुधार हुँदै आर्थिक गतिविधिमा सुधार आएको बताउनुभयो ।
सम्मेलनमा एसियाली पूर्वाधार लगानी बैंक (आइआइबी)का अध्यक्ष जिन लिक्विनले विश्वव्यापीकरणलाई ध्यान दिँदै विकासलाई गति दिन र क्षेत्रीय संयोजन गर्नका लागि पूर्वाधार विकास कार्यक्रम आएको उल्लेख गर्नुभयो ।
उहाँले सामाजिक एवम् वातावरणीय रुपमा अगाडि बढाउन आइआइबी स्थापना भएको भन्दै आर्थिक सामाजिक क्षेत्रमा लगानी गरेर अगाडि बढ्ने बताउँदै जनताको चाहनाअनुसार विकासलाई अगाडि बढाउने उल्लेख गर्नुभयो ।
लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारीले मुलुकको सबै क्षेत्रले लगानीका लागि प्रतिबद्धता व्यक्त भएकाले यसले मुलुकमा वैदेशिक लगानीका लागि उपयुक्त अवसर भएको बताउनुभयो ।
सम्मेलनमा भारत, चीन, बङ्गलादेश, श्रीलङ्का, सिङ्गापुर, हङ्कङ, मलेसिया, अमेरिका, रुस, क्यानाडालगायत दुई दर्जन मुलुकका २५० संस्थागत तथा व्यक्तिगत लगानीकर्ता सहभागी छन् । नेपालमा सन् १९९२ मा तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको नेतृत्वको सरकारले पहिलोपटक वैदेशिक लगानी भित्र्याउन अन्तर्राष्ट्रिय सम्मेलन गरेको थियो ।
Comments
अरु समाचार
-
सुनचाँदीको मूल्य निरन्तर अकासिँदो !
काठमाडौं ।आज बुधबार सुनको मूल्य तोलामा ८ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला...
-
आज आइतबारका लागि विदेशी मुद्राको विनिमय दर कति ?
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (आइतबार) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी...
-
केवाइसी भ्यानमा सिजीको सिन्डिकेट, विनोद चाैधरीको ध्यान अदालतको दुरुपयोगमा !
काठमाडाैं । ‘प्रतिस्पर्धा प्रवर्धन तथा बजार संरक्षण ऐन, २०६३’ ले बजारमा सिण्डिकेट निषेध गरे पनि सिजी मोटर्सले सवारी साधन आयातमा...
-
शनिबारका लागि विदेशी मुद्राको विनिमयदर यस्तो छ
काठमाडौं– नेपाल राष्ट्र बैंकले आज (शनिबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको...
-
सुनको मूल २ लाख ५० हजार नाघ्यो
काठमाडौं । शुक्रबार सुनको मूल्य २ लाख ५० हजार नाघेको छ । नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघका अनुसार आज...
-
पूर्वीनाकाबाट एक अर्ब ३७ करोडको चिया निर्यात
झापा । पूर्वीनाका काँकडभिट्टाबाट चालु आर्थिक वर्षको प्रथम चौमासिकमा रु एक अर्ब ३७ करोड ३० लाख ७७ हजार बराबरको चियाको...
-
आजदेखि एक सयको नयाँ नोट चलनचल्तीमा
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजदेखि एक सय रुपियाँ दरको नयाँ बैंक नोट चलनचल्तीमा ल्याएको छ । बैंकले सूचना जारी गर्दै...
-
जकार्ता विश्वकै सबैभन्दा ठूलो सहर, टोकियो तेस्रोमा झर्यो
काठमाडौं । संयुक्त राष्ट्रसंघको एक नयाँ प्रतिवेदनले इन्डोनेसियाको राजधानी जकार्तालाई विश्वको सबैभन्दा ठूलो शहर घोषणा गरेको छ । यो शहरमा...
-
मुस्ताङमा आलुको उत्पादन क्षेत्र विस्तार : ६२ करोडको ८२ लाख बढीको बिक्री
मुस्ताङ । यहाँको पाँच स्थानीय तहमा रु ६२ करोड ८२ लाख ३५ हजार ४०० बराबरको आलु उत्पादन भएको छ ।...












