‘नदीको प्रयोग गरी महानगरको समृद्धि’– भरतपुर महानगरका प्रमुखको प्रतिबद्धता
चितवन, २० वैशाख । मधेसको एकमात्र महानगरपालिका भरतपुरका प्रमुख पदका उम्मेदवारले दुई तर्फबाट बगेका नारायणी र राप्ती नदीको अधिकतम सदुपयोग गरी समृद्ध महानगर बनाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।
देशका ७४ जिल्लाबाट बसाइँ सरी यहाँ आएका नेपालीको सङ्गमथलो भरतपुर महानगर हो । महाभारत पर्वत शृङ्खला हुँदै निकुञ्ज जोड्ने जङ्गल एकातर्फ पर्दछ भने अर्काेतर्फ नारायणी नदी पर्दछ । दक्षिणमा निकुञ्ज हुँदै बग्ने राप्ती नदी छ । त्यसको बीचको भू–भागमा असिमित सम्भावना बोकेको भरतपुर महानगरपालिका पर्दछ ।
भरतपुर महानगरपालिकामा यही वैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनमा १५ जनाले प्रमुख पदका लागि उम्मेदवारी दर्ता गराए पनि प्रतिस्पर्धा भने मुख्य तीन दलबीचमा नै हुने देखिएको छ । प्रमुख प्रत्यासी दल नेपाली काँग्रेसका प्रमुख पदका उम्मेदवार दिनेश कोइराला नारायणी र राप्ती नदीलाई अधिकतम उपयोग गरी यहाँको विकास गर्ने बताउनुहुन्छ । देवघाटदेखि मुग्लिनसम्म र देवघाटबाट त्रिवेणीधामसम्म जलयात्रा गर्न सकिने उहाँको भनाइ छ ।
नारायणीमा महानगरवासीको आफ्नै लगानीमा जलविद्युत् उत्पादन गरी महानगरवासीले उपलब्ध गराउने र बचेको बिजुली बिक्री गरेर आम्दानी गर्ने उहाँको सोच छ । चितवन राष्ट्रिय निकुञ्जको एकातर्फ पूरै सिमाना भरतपुर महानगरपालिका परेकाले पर्यटकीय दृष्टिले यो महानगरको सम्भावना अत्याधिक बढी भएको उहाँले बताउनुहुन्छ ।
राप्ती र नारायणी किनारमा ठूला होटल र मनोरन्जन केन्द्र सञ्चालन गरी स्वदेशी र विदेशी पर्यटक भित्र्याएर यहाँको विकास गर्न सकिने कोइरालाले बताउनुभयो । जेसीसका राष्ट्रिय अध्यक्ष भइसक्नु भएका कोइरालाले ‘समृद्धिका लागि परिवर्तन’ भन्ने नाराका साथ स्वास्थ्य र शिक्षामा हुने गरेको अवैध व्यापार अन्त्य गरी पाँच वर्षभित्र शिक्षा र स्वास्थ्य निःशुल्क गराइने बताउनुभयो ।
नेकपा (एमाले)का तर्फबाट प्रमुख पदका उम्मेदवार देवी ज्ञवालीले पनि नारायणी नदीमा पर्यटकीय गतिविधिका साथै सम्भाव्यता अध्ययन भइसकेको १५० मेघावाट जलविद्युत् उत्पादन गरिने बताउनुभयो ।
उहाँले महानगर र महानगरवासीको लगानीमा जलविद्युत् लगानी गरिने भन्दै यसले महानगर समृद्ध बनाउन टेवा पुग्ने बताउनुभयो । नारायणी र राप्ती नदीलाई दुईतर्फ बाँध बाँधेर जलक्रिडा, मत्स्यपालन गर्दै देवघाटदेखि त्रिवेणीधामसम्म जलयात्रा सञ्चालन गर्ने आफ्नो योजना सुनाउनुभयो । नदीका छेउमा तारे होटल र मनोरन्जन केन्द्र खोल्न उत्प्रेरित गरिने उहाँले बताउनुभयो ।
तत्कालीन भरतपुर नगरपालिकाको उपप्रमुख समेत भइसक्नु्भएका ज्ञवालीले आफ्नो पालामा नदीलाई प्रदूषणबाट रोक्न ढलको पानीलाई प्रशोधन गराएर मात्रै नदीमा मिसाएको बताउनुभयो । उहाँले भरतपुरको समृद्धिको आधार नारायणी नदी रहेको बताउनुभयो ।
नारायणी नदीसँग जोडिएको कविलासको पहाडको अधिकतम उपयोग गरी पर्यटकीय गन्तव्यको रुपमा विकास गरिने बताउनुभयो । विश्वका प्रसिद्ध धार्मिक स्थलभन्दा महत्व बोकेको देवघाटको विकास गरी धार्मिक पर्यटक भित्र्याउने भन्दै उहाँले शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरन्जनलगायतमा जोड दिने बताउनुभयो ।
आफ्नो पहिलो प्रतिबद्धता ‘जीवनका लागि पानी’ भएको भन्दै उहाँले पाँच वर्षभित्रमा २९ वटै वडामा स्वच्छ खानेपानी पु¥याउने बताउनुभयो ।
नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालको गृहनगर भरतपुर महानगरमा केन्द्रका तर्फबाट दाहालकी छोरी रेणु दाहाललाई प्रमुखका रुपमा उम्मेदवार बनाइएको छ । दुई नदी केन्द्रित पर्यटन गतिविधिको विकास गरी यसलाई समृद्ध बनाउन सकिने उम्मेदवार दाहालको भनाइ छ ।
राप्ती र नारायणी नदीको किनारमा रिङ्रोड निर्माण गरी सुन्दर सहरको परिकल्पना गर्नुभएकी दाहालले नगरभित्र हरियालीसहितको भित्री र बाहिरी दुईवटा चक्रपथ हुने बताउनुभयो ।
कृषि लक्षित विशेष कार्यक्रम गरिने भन्दै उहाँले समृद्ध मेट्रो सिटीका रुपमा भरतपुरलाई विकास गर्न आफू लागिपर्ने उल्लेख गर्नुभयो । अन्तर्राष्ट्रिय क्रिकेट र फुटबल खेल मैदान बनाइने भन्दै उहाँले व्यवस्थित बजार, सडक र ढललाई आफ्नो भावी कार्यक्रमका रुपमा लिनुभएको छ ।
राप्रपा चितवनका अध्यक्ष समेत रहनुभएका राप्रपाका तर्फबाट भरतपुर महानगरपालिकाको प्रमुख पदका उम्मेदवार बद्री तिमिल्सिनाले देवघाटदेखि त्रिवेणीसम्म जलयात्रा सञ्चालन गरेर स्वदेशी र विदेशी पर्यटक भित्र्याउने बताउनुभयो । नारायणी नदीलाई बाँध बाँधेर नदीले कटान गरेको क्षेत्रमा सुकुम्वासी व्यवस्थापन गर्न सकिने र चक्रपथ निर्माण गर्न सकिने उहाँको योजना छ ।
महानगरपालिकाको २९ नं वडा रहेको कविलासमा हिलटावर निर्माण गरी पर्यटकको बसाइँ लम्ब्याउन सकिने भन्दै उहाँले पटिहानीदेखि जगतपुर हुँदै गोलाघाटसम्मलाई पर्यटकीय क्षेत्रको रुपमा विकास गरिने बताउनुभयो ।
दुई लाख ८० हजार जनसङ्ख्या रहेको भरतपुर महानगरपालिकामा एक लाख ५० हजार २७४ मतदाता रहेका छन् । भरतपुर महानगरमा ८३ जनजातिको बसोबास रहेको छ । मुख्य रुपमा बाहुन, क्षेत्री, नेवार, गुरुङ, तामाङ, मगर, थारु, कामी, मुसलमान, दमै, ठकुरी, सार्कीको बसोबास रहेको छ ।
तत्कालीन भरतपुर नगरपालिकामा गीतानगर, मङ्गलपुर, पटिहानी, शिवनगर शुक्रनगर गाउँविकास समिति मिलेर उपमहानगरपालिका बनेको हो भने चित्रवन र नारायणी नगरपालिका तथा कविलास गाविस मिलेर महानगरपालिका बनेको हो । महानगरमा २९ वटा वडा रहेका छन् । जसमा प्रमुख, उपप्रमुखसहित १५० जना जनप्रतिनिधि निर्वाचिन हुनेछन् ।
महानगरमा कृषि तथा वन विज्ञान विश्वविद्यालय, दुईवटा मेडिकल कलेज, सरकारीस्तरका बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल र भरतपुर अस्पतालसहितका दुई दर्जन निजी अस्पताल रहेका छन् । पूर्व–पश्चिम राजमार्गबाट राजधानी काठमाडौँं छिर्ने मुख्य नाकाका रुपमा भरतपुर रहेको छ । रासस
Comments
अरु समाचार
-
रुपन्देहीमा स्कुल बस र ट्याक्टर ठोक्किँदा २१ विद्यार्थी घाइते
बुटवल । रुपन्देहीको ओमसतियामा स्कुल बस र ट्याक्टर ठोक्किँदा २१ विद्यार्थी घाइते भएका छन् । धान बोकेको ट्याक्टरसँग बस ठोक्किएर...
-
आजको मौसम : देशभर आंशिक बादल लाग्ने पूर्वानुमान
काठमाडौं । हाल नेपालमा पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको छ । देशभर आंशिक बादल लागेको छ । तराईका केही...
-
उच्च अदालत जनकपुरमा यसरी सदुपयोग गरियो लगातार तीन दिनको बिदा (फोटोफिचर)
जनकपुर । जनकपुर उच्च अदालतका न्यायाधीश तथा कर्मचारीको तीन दिन बिदाको सदुपयोग देशमै एक उहारणीय भएको छ । कायम मुकायम...
-
बंगलादेशकी पूर्वप्रधानमन्त्री हसिनालाई भ्रष्टाचार अभियोगमा १० वर्ष जेल
ढाका । बङ्गलादेशको एक अदालतले पूर्वप्रधानमन्त्री शेख हसिनालाई भ्रष्टाचारको अभियोगमा १० वर्षको जेल सजाय सुनाएको छ । विशेष न्यायाधीशको अदालत–४...
-
आज माघ शुक्ल पूर्णिमा, एक महिना लामो स्वस्थानी व्रत कथा समापन गरिँदै
काठमाडौँ । माघ शुक्ल पूर्णिमाका दिन आज एक महिना लामो स्वस्थानी व्रत कथा समापन गरिँदैछ । पौष शुक्ल पूर्णिमादेखि वैदिक...
-
पश्चिमी वायुको आंशिक प्रभाव : उच्च पहाडी भेगमा हल्का हिमपात र वर्षाको सम्भावना
काठमाडौं । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । हाल सुदूरपश्चिम प्रदेशका तराई भूभागका केही स्थानमा कुहिरो लागेको...
-
उच्च पहाडी तथा हिमाली भागका केही स्थानमा हल्का वर्षा र हिमपात हुने
काठमाडौं । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । कोशी र मधेस...
-
अख्तियारले किन नियन्त्रणमा लियो यातायात प्रमुखसहित २७ जनाको मोबाइल ?
काठमाडौँ। यातायात व्यवस्था कार्यालय चाबहिलका कार्यालय प्रमुखसहित २७ जनाको मोबाइल अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नियन्त्रणमा लिएको छ । सवारी लाइसेन्स...
-
देशभर १६ आगलागीका घटना, दुई जनाको ज्यान गयो
काठमाडौं । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार, माघ १२ गते बिहानदेखि मङ्गलबार बिहानसम्म देशभर विपद्मा २० घटना...











