आफ्नीले बाटो बदलेपछि…
म सूर्यबहादुर तामाङ । बुवाआमा दुवै परलोक भइसक्नुभएको, औँला भाँचेर गन्दा सही समय बताउन सक्दिनँ । एक्लो सन्तान । ०१६ सालमा जन्मिएँ । ०५० सालमा बिहे भो । दुई सन्तानमध्ये जेठी छोरी र ज्वाइँ अमेरिकी पिआरधारी । दुई बालबच्चासहित उतै छन् ।
पराइ घर गएकी कान्छी छोरी मूलपानी बस्छिन् । कान्छीका पनि दुई छोराछोरी । दुवै जनाको नागरिकता बनाइदिएपछि बुवा भनेर कहिल्यै भेट्न आएनन् । छोरीहरूसँग अन्तिम भेट बबरमहलस्थित जिल्ला कार्यालयमा नागरिकता बनाउन जाँदा भयो । त्यसपछि भएन । बुवालाई नै बेवास्ता गरेपछि मैले पनि उनीहरूको विषयमा चासो राखिनँ । जीवन उकाली ओराली रहेछ । दुई दशकअघि धर्मपत्नी शान्तिसँग छुट्टिएपछि दुवै छोरी कब्जामा लिइन् । त्यसपछि मैले पनि कठोर कदम चालेँ । बौद्धमा बनाएको दुईतले घर बेचिदिएँँ । कानुनसंवत् घरको हक सबै जहानमाथि थियो । बेचेको थोरै रकम आफूसँग राखेर बाँकी सबै रकमको हिस्सा उनीहरूलाई नै बुझाइदिएँ । यद्यपि, हालसम्म कानुनी रूपमा सम्बन्धविच्छेद भएको छैन । अब, यो बुढ्यौली उमेरमा बिहे गर्ने कुरा पनि आएन । अब, फलाक्छु नागबेली नदीसरी बत्तिएका मेरा जीवनका कहानी…।
उमेर छिप्पिँदै जाँदा झन्–झन् मायाका स्वरूप बद्लिँदारहेछन् । अहिले र उहिलेको मायाको स्वरूप आकाश–पाताल भिन्न छन् । यी सबै कुरा अहिले म सजिलै केराउको बोक्राबाट दाना झिकेसरी केलाउन सक्छु । पढेर हैन परेर थाहा पाएँ माया र प्रेमबीचको फरकपन । आकाशमा चम्किएको जून र तारा देख्दा जति नजिक देखिन्छ, त्यस्तै छ माया र प्रेमबीचको सम्बन्ध पनि । त्यसपछि विवाह त कोशै टाढा हुनु भैगयो । शान्ति र म मनमुटावका कारण छुट्टियौं । कहिले बौद्ध, कहिले चुच्चेपाटीमा गरी कैयौंपटक भेट भयो तर बोलिनन् । म पनि बोलिनँ । जेठी छोरी नौ वर्षकी थिई । कान्छी पाँच वर्षकी । शान्ति श्रेष्ठबाट छोरा भएन भनेर कुनै रोइलो मच्चिएन । छोराभन्दा बढी माया–ममता दिएर छोरी हुर्कायौँ । शान्तिलाई बौद्धकी मितिनी दिदीले काभ्रेमा गाईवस्तु चराउँदै गर्दा घरको सल्लाहबमोजिम राजधानी ल्याइन् । शान्तिले मितिनी दिदीको घर सरसफाइ, खाना पकाउने, केटाकेटी हेरविचार गर्नुपथ्र्याे । त्यतिबेला मितिनी दिदीको बौद्ध गेटपारि थियो घर । घरमुनि शान्ति नै नाम गरेको ठूलो वर्कसप थियो । चारपांग्रे गाडीको मात्र सर्भिसिङ हुन्थ्यो । अहिले यो ग्यारेजमा रेस्टुरेन्ट छ । धेरै भयो त्यता नगएको, सायद घर पनि बेचिसकिन् कि ! केही समयअघि घर बेच्न लागेको थाहा पाएको थिएँ ।
जीवनमा के–के गरिएन । ०५८ मा मूलपानीमा ग्यारेज खोलँे । तर, ०६२ सालको १९ दिने आन्दोलन चर्किनुपूर्व नै छाडेर पोखरा हान्निएँ । त्यहाँ फर्निचरमा काम सुरु गरेँ । हातमा सीप भएपछि एक्लो ज्यान पाल्न सहज हुँदोरहेछ । जहाँ खायो त्यो आफ्नै किचन, जहाँ सुत्यो त्यहीँ आफ्नो बिछ्यौना भनेझैं । श्रीमतीसँग छुट्टिएपछि एक्लो ज्यानलाई किन चाहियो घर ? घर बेचिदिएँ । घर बेच्दा आएको ७५ प्रतिशत रकम छोराछोरी र श्रीमतीलाई नै दिएँ । म नाथे जहाँ गए पनि के मतलव । श्रीमतीको माया होइन, छोराछोरीको मायाले घर बेचेको पैसा दिएँ । त्यो पैसा के गरिन् उनैलाई थाहा होला । छुट्टिएपछि पनि शान्तिलाई लिन भनेर ६ चोटि मितिनी दिदीकहाँ पुगँे । तर, मितिनी दिदीले नमानेपछि के गर्छस् ? जर्बजस्ती गरेर हुँदैन । अबआइन्दा लिन नआइज । ऊ एक्लै बस्छे । तँ पनि एक्लै बस् । छोरी दुईलाई मै पढाउँला । सुनिस् भन्दा केही जवाफ दिन सकिनँ । ज्वालामुखी विस्फोटन हुनुपूर्वको रातो लाभाजस्तै तात्तिएको थिएँ तर त्यो एकाएक सेलायो । विस्फोटन हुन पाएन । सायद शान्ति भएपछि उनलाई आराम मिल्थ्यो तर, शान्तिले त्यो बुझिनन् । मेरो पनि मितिनी दिदीको जस्तै आफ्नै खालको घर थियो । थियो होला फरक आकाश–पातालको । मितिनी दिदीको घरको रूप कुनै हिरोइनको शरीरजस्तो थियो होला, मेरो गाउँले ठिटी स्टाइलको । जे भए पनि हामीलाई छोरी पाल्न अरूकै सहारा लिनुपर्ने अवस्था त थिएन नि ! तर, शान्तिले बुझिनन् । उनलाई बिहानै राजपरिवारजस्तो ब्रेकफास्ट खुवाउन नसके पनि एक कप चिया र पाउरोटी त सर्भ गर्न सक्थेँ तर उनले ताकिन् त्यही मितिनी दिदीको भोजन । यसरी भयो बिछोड ।
विवाहपछिका दिन राम्रैसँग बित्दै थिए । अन्तरजातीय विवाह भनेर कसैले हेपेका थिएनन् । हामी आफ्नै संसारमा रमाइरहेका थियौँ । १३ वर्षकी हुँदा उनलाई मैले मितिनी दिदीबाट विवाह गरेर ल्याएको हुँ । श्रेष्ठ थरकी उनी अग्ली, पातली तर शरीरको आकार बडो मिलेको । तामाङ केटो, म पनि उस्तै खाइलाग्दो । मेरो जीवनमा शान्ति आउनुपूर्व तामाङ्नी तरुनीहरू कति पछि लागे । तर, फिटिक्कै मन गएन । सायद शान्तिसँगै भेट हुनु थियो । समयको अन्तरालसँगै मितिनी दिदीको घर आवतजावत क्रममा प्रेम बस्यो । अहिलेका युवायुवतीजसरी पशुपति, स्वयम्भूतिर डेटिङ गएनौँ । एकैचोेटि विवाहबन्धनमा कसियौँ । मितिनी दिदीले नै विवाह गर्छौ भने गर न त भनेपछि मान्यौं । तामाङ संस्कारअनुसार जन्मिँदा जाँड–रक्सी चाहिन्छ र मर्दा पनि । म जाँड रक्सी खान्थेँ तर अरूजसरी शरीर थाम्न नसक्ने गरी होइन । अहिले पनि पिउँदिन । शान्ति जाँड रक्सी नखाने । उनले चाहेको र मागेको सबथोक भरिपूर्ण गरिदिएको थिएँ । कसैलाई धम्क्याएर, छक्याएर होइन ज्याला–मजदुरी गरेर, हात खियाएरै महिनापिच्छे तलब बुझाइदिन्थँे । उनले पनि तलब छोराछोरीकै लागि खर्चिइन् । केही आफ्ना लागि पनि । यसमा मेरो कुनै आपत्ति थिएन । अरूको छेउमा आफ्नो राम्रो देखियोस् भन्ने चाहिँदोरहेछ÷सोचिँदोरहेछ । आज त्यो क्षण सम्झिन्छु, ०७२ को विनाशकारी भूकम्पभन्दा ठूलो धक्का आउँछ मुटुमा । बिछोडपछि दिनमा पराकम्पन नगएको कुनै क्षण भएन । अहिले पनि आक्कलभुक्कल गइरहन्छ । तर, ती पल सम्झिएर के फाइदा । पाषाण हृदय बनाएर बस्छु । बस् ।
अहिले यही कपन बंगलामुखी मन्दिर नजिक बनाइरहेको शेर्पेनी दिदीको घर रुँगेर दिन कटाउँदै छु । शेर्पेनी दिदीले नयाँ घर बनाउँदै हुनुहुन्छ । नयाँ घर रेखदेख गर्ने जिम्मा पाएको छु । घर रेखदेख गरिदिएबापत मासिक तलबसहित निःशुल्क बस्न र खानको व्यवस्था छ । खुसी नै छु । डेढ महिना भयो घर बनाउन सुरु भएको । ठेकेदारले आठ महिनामा सकाइदिन्छु भनेर घरबेटीलाई भाका दिएको छ । तर, सबै चिज जोडजाम गर्दा एक वर्ष लागिहाल्छ । त्यसपछि म पनि फेरि एकमुठी सास रहेसम्म गाँसका लागि अन्तै सर्छु । अहिले शेर्पेनी दिदीको घर रुँग्दै गर्दा ल्प्यासब्याकमा फर्किन्छु । ठूलै विपद् आएसरी ह्वाँह्वाँ रुन्छु । जवानी छँदा जोवनलाई बसमा राख्न सकिएन, स्टेरिङ र गेयर मात्र एकनासले हुइँक्याइयो भने सूर्य चुरोट सल्किएसरी हुइँदोरहेछ । त्यसैले मलाई लाग्दैन म वास्तविक सूर्यबहादुर हुँ । मेरी शान्ति पनि शान्ति होइनन् अशान्ति हुन् । एकअर्कालाई चिन्न सकेनौँ । अब, यो बुढेसकालमा फेरि चिनजान गरेर के फाइदा ? मलाई आफ्नै दुनियाँ सुन्दर छ, उनलाई आफ्नै !
हामीले यो स्टोरी जनआस्था साप्ताहिकबाट लिएका हौं ।
Comments
अरु समाचार
-
चिकित्सा शिक्षा आयोगद्वारा छात्रवृत्ति अनुदानसम्बन्धी कार्यविधि, २०८३ स्वीकृत
काठमाडौँ । चिकित्सा शिक्षा आयोगले छात्रवृत्ति अनुदानसम्बन्धी कार्यविधि, २०८३ स्वीकृत गरी जारी गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री तथा मन्त्रीपरिषद्...
-
महोत्तरी प्रहरीको कडा अभियान, प्रहरी कार्यालय वरिपरि सक्रिय दलाल सञ्जालमाथि निगरानी बढ्यो
जलेश्वर । सरकारी कार्यालयहरूमा सेवाग्राहीको भीडसँगै बिचौलियाको चलखेल बढ्दै गएको गुनासो देशभरि सुनिँदै आएको छ। नागरिकले आफ्नै कामका लागि अनावश्यक...
-
नेपाल प्रहरीका ३६३ जवान सहायक हवल्दारमा बढुवाका लागि सिफारिस
काठमाडौँ– नेपाल प्रहरी प्रधान कार्यालय, बढुवा समिति सचिवालयले विभिन्न प्राविधिक समूहमा ३६३ प्रहरी सहायक हवल्दार पदमा बढुवाका लागि सिफारिस गरेको...
-
सम्पत्ति शुद्धीकरण सम्बन्धी मुद्दामा दीपक भट्ट, शेखर गोल्छासहित ३९ जनाविरुद्ध मुद्दा दर्ता
काठमाडौं । सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ्ग) सम्बन्धी मुद्दामा व्यवसायी दीपक भट्ट, शुलभ अग्रवाल र शेखर गोल्छासहित ३९ जना प्रतिवादीविरुद्ध विशेष...
-
काभ्रे बस दुर्घटना: ८ जनाको ज्यान गयो, १७ घाइतेको उपचार जारी
काठमाडौं । काभ्रेको बनेपाबाट रोशी गाउँपालिकाको सुँगुरेतर्फ जाँदै गरेको यात्रुवाहक बस दुर्घटना हुँदा ८ जनाको ज्यान गएको छ । बा...
-
गोदावरी नदीले बगाउँदा दुई महिलाको ज्यान गयो
धनगढी। कैलालीको गोदावरी नगरपालिका–४ मा गोदावरी नदीले बगाउँदा शुक्रबार बिहान दुई महिलाको ज्यान गएको छ । इलाका प्रहरी कार्यालय मालाखेतीका...
-
व्यवसायिक कारोबारलाई अपराधीकरण गर्दै राज्यले प्रतिशोधपूर्ण ढंगले प्रस्तुत गर्योः दीपक भट्ट
काठमाडौं । सम्पत्ति शुद्धीकरण तथा धितोपत्र कारोबारसँग सम्बन्धित अनुसन्धानमा मुछिएका व्यवसायी दीपक भट्टले आफूविरुद्ध लगाइएका आरोपहरू अस्वीकार गर्दै राज्य निकायले...
-
रेष्ट इभेन्ट्सको ‘एसईई सुपर मोडल २०२६’: सौरभ सिटौला र आर्याना सिंह बने विजेता
काठमाडौँ । नेपालका कान्छा कोरियोग्राफर गौरव सिटौलाका भाइ सौरभ सिटौला र आर्याना सिंह यस वर्षको “मिस्टर एण्ड मिस एसईई सुपर...
-
सरकारी विद्यालयमा किन विद्यार्थी संख्या न्यून ? तेह्र हजार विद्यालयमा सयभन्दा कम
काठमाडौँ। देशभर सञ्चालनमा रहेका सामुदायिक विद्यालयमध्ये आधाभन्दा बढी विद्यालयमा विद्यार्थी संख्या सयभन्दा कम रहेको तथ्य सार्वजनिक भएको छ। विद्यार्थी अभावका...












