ताजा समाचार

कविता : म संसार डुल्न चाहन्छु

म सानी थिएँ ।
नेपाली शिक्षकले पढाउनुहुन्थ्यो ।
हतियार भन्दा कलम ठूलो’
बलभन्दा बुद्धि ठूलो र
धनभन्दा स्वास्थ्य ठूलो ।

हतियारले त आमाले सधैं
तरकारी काट्ने गर्थिन ।
कलमले म सधैं लेख्ने गर्थें ।

म काटकुट पन्ध्र किलो कि
हुँदी हुँ त्येतिबेला ।
बाख्रीका दुइटा पाठी
एक्कैचोटी बोकेर
बल पनि नदाँजेकी कहाँ हुँ र ?

एक कक्षाबाट
दुईमा गएको दिन,
जुन दिन,
बाबाले किताब किनेर ल्याइदिनुभो ।
त्यो दिन,
रातभर सबै किताब पढेर,
सबै चित्र हेरेर,फोटोका सबै मान्छे गनेर
धन भन्दा ठूलो शिक्षा पनि बुझेकी थिएँ ।
एउटा,
अबोध बालक न थिएँ ।
कति बुझेर बुझें,
कति नबुझेर बुझें !

गल्ती मैले नबुझ्नु थियो या
बुझाउन नसक्नु
नेपाली पढाउने राजप्रसाद सरको ।
बाल मष्किमा मैले नबुझेका कुरा ।
आँखाले नभेटिएको
दुरसम्मका धर्तिका कुरा,
पहाडले चुम्न नसकेको,
हिमालले छुन नसकेको
आकाशको कुरा अनि
धर्ती–आकाश ओगटेको संसारको कुरा ।

आमाको गुन्यु समाउँदै पछि लागेर,
बाराही ट्राभल्समा दुई घण्टा सफर गरेर,
मामाघर पुगेकी म
जुन जीवनकै ठू्लो संसार घुमाई थियो ।
र,
ठूलो संसार घुमाउने मेरी आमा
संसारकै सबैभन्दा
ठूली लागेको थियो मलार्इ
मैले नघुमेको टाढाको संसार ।

दिदीलाई साना भएका जुत्ता लगाएर
बाको हात समाएर
टिमीकटिमीक
मङलबारे हाटमा गएको दिन
मेरा बा,
मेरा लागि संसारकै ठूलो हुनुहुन्थ्यो ।

बदलिदो समयसँगै,
चाहे मामाघर जाँदा होस् या हाटबजार,
लुकमारी खेल्दा होस् वा कवड्डी,
खोला बगेको देख्दा होस् वा
आकाशमा चरा उडेको देख्दा
र पोखराकोबाट काठमाडौंको
खाल्डोमा बसाइँ सरेर आउँदा
म नौलो संसार खोजिरहेकी हुन्थें ।

हो,
म संसार खोजी रहेकी छु । र,
संसारै बुझिरहेकी हुन्छु ।
संसार डुल्न चाहन्छु,
धर्तीको अन्त्यसम्म ।

आमाबाबा
‘मलाई आशीर्वाद दिनुहोस् ।’

 

पुजा पराजुली,कास्की
हाल : टेक्सास, अमेरिका

 

यो पनि पढ्नुस् । 

http://news-nepal.com/%E0%A4%95%E0%A4%A5%E0%A4%BE-%E0%A4%B8%E0%A4%97%E0%A5%8B%E0%A4%A4%E0%A5%8D%E0%A4%B0%E0%A5%80%E0%A4%AF-%E0%A4%AA%E0%A5%8D%E0%A4%B0%E0%A5%87%E0%A4%AE/

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org