आज माघे (मकर) सङ्क्रान्ति, यस्तो छ माघे संक्रान्तिको शास्त्रीय महत्व
काठमाडौं, १ माघ । आज माघे संक्रान्ति । चाकु, तरुल र तिलको लड्डुजस्ता खानेकुरा खाएर आज माघे संक्रान्ति पर्व मनाइँदैछ । माघे संक्रान्तिको अवसरमा काठमाडौंको टुँडिखेलमा थारु र मगर समुदायले विशेष कार्यक्रम आयोजना गरेका छन् । माघे संक्रान्तिको अवसरमा सरकारले सार्वजनिक विदासमेत दिएको छ । हरेक वर्ष माघे संक्रान्तिलाई विशेष रुपमा मनाउने चलन छ । विभिन्न जातीय समुदायले यसलाई भिन्नभिन्न तरिकाले मनाउँछन् ।
सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गरी उत्तरायण शुरु हुने भएकाले माघ १ गतेलाई मकर सङ्क्रान्ति भनिन्छ । साउन १ गतेदेखि शुरु भएको दक्षिणायन अन्त्य भई माघ १ गतेदेखि नै उत्तरायण शुरु हुने भएकाले दिन भन्दा रात छोटा हुँदै जान्छन् । उत्तरायण शुरु हुने दिनको स्नान, जप, तप, ध्यान, साधना, दान आदिलाई पुण्यदायक मानिन्छ ।
यसैले आजको दिन देवघाट, त्रिशूली, कालीगण्डकी, वाग्मती, इन्द्रावती, त्रिवेणी, रिडी, बेत्रावतीलगायत स्थानमा माघ स्नान गर्ने भक्तजनको भीड लाग्छ । यी स्थानमा आजका दिन भव्य मेला समेत लागेको छ । माघे सङ्क्रान्तिदेखि साउने सङ्क्रान्तिसम्म सूर्य उत्तरको बाटो हिँड्ने भएकाले यो छ महिनाको समयलाई उत्तरायण भनिएको नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले राससलाई जानकारी दिनुभयो ।
“सूर्य उत्तरायण भएका बेला गरिएको स्नान, दान, जप, तप, तीर्थ, ब्रतलाई उत्तम मानिएको छ, यो समयमा भएको जन्म र मरण उत्तम हुन्छ, प्रयागमा गई स्नान गरेर जन्म मरणको दुःखमा पर्नुनपर्ने हेमाद्रि, पुराण लगायत ग्रन्थमा उल्लेख गरिएको छ”–उहाँले भन्नुभयो ।
उत्तरायणमा पनि माघ र वैशाख महिना उत्तम मानिएको उहाँले बताउनुभयो । माघको शुक्ल पक्ष अझ बढी महत्वपूर्ण समय कर्म गर्नका लागि मानिएको समितिले जनाएको छ । तराईवासीले पनि माघ १ लाई ‘नहान्’ अर्थात् नुहाउने पर्वका रुपमा मनाउँछन् ।
तिलले स्नान गर्नु, तिलको तेल घस्नु, पितृलाई तिलयुक्त जल दिनु, तिल हवन गर्नु, तिल दान गर्नु र तिल खानु गरी छ प्रकारले तिलको प्रयोग माघ महिनामा गर्नाले यो लोकमा सुख शान्ति पाई परलोकमा मोक्ष पाइने धार्मिक विश्वाससमेत छ । माघ शुक्ल पक्षमा तिललाई छ प्रकारले प्रयोग गर्ने षट्तिला एकादशी पर्व समेत पर्दछ ।
आजका दिन बिहानै तीर्थस्थलमा गई स्नान गरेर तिल दान गर्नाले सुन दान गरे सरहको पुण्य प्राप्त हुने धार्मिक विश्वास छ । धर्मसिन्धुमा माघ १ मा घ्यू, चाकु, तिलका परिकार तथा खिचडी नखाने, दान नगर्ने, जलाशयमा गई स्नान नगर्ने, ध्यान नगर्ने व्यक्ति जीवनभर रोगी हुने उल्लेख छ । स्नान, दान, ब्रत, ध्यान गर्ने व्यक्तिले पुण्य प्राप्त गरी मनकामना पूर्ण हुन्छ भन्ने शास्त्रीय मान्यता छ ।
माघे सङ्क्रान्तिका दिन घ्यू, चाकु, तिलका परिकार, तरुल, पालुङ्गो, खिचडी आदि खाने चलन छ । यी परिकारले जाडोमा न्यानो प्रदान गर्ने भएकाले चिसो समयमा पर्ने पर्वमा ताता परिकार खाने गरिएको हो । यी खानाले त्रिदोष नाश हुने धार्मिक विश्वास छ ।
आजका दिन शरीरमा तिलको तेलले मालिस गर्दा दूषित पदार्थ बाहिर निस्कन्छ भन्ने विश्वास छ । शरीरका नाडी, स्नायुमण्डल र हड्डीलाई तिलको तेल मालिसबाट सुदृढ र स्वस्थ राख्न सकिन्छ । सूर्य उत्तरायण भएपछिको मृत्युलाई उत्तम मानिन्छ । महाभारत युद्धमा मृत्यु श्ययामा पुगेका भीष्मले ईच्छा मृत्युको वरदान पाएअनुसार सूर्य उत्तरायणपछि नै शरीर त्यागेका थिए । आजका दिन भक्तपुरको तिलमाधव नारायणस्थान लगायतका तीर्थस्थलमा पनि मेला लाग्ने गर्दछ ।
यसवर्ष शुक्र अस्त भएकाले माघे संक्रान्ति मनाउनु हुन्न भन्ने हल्ला गलत रहेको समितिले जनाएको छ । यो पर्व नित्य कर्म भएकाले शास्त्रीयरुपमै मनाउन सकिने अध्यक्ष गौतमले बताउनुभयो । गत मंसिर २९ गते पूर्वमा अस्ताएको शुक्र माघ १८ गते पश्चिमबाट उदाउने समितिले जनाएको छ । रासस
Comments
अरु समाचार
-
घमेस दुलालले ल्याए पातली (भिडियोसहित)
घमेश दुलालले पातली बोलको गितको म्युजिक भिडियो सार्वजनिक गरेका छन् । गायक दुलाललाई सारदा रसाइलीले स्वरमा साथ दिएकी छन भने...
-
साहित्यकार सुबिन भट्टराईकाे “चमेलीको फूल बैजनी रुमाल” विमाेचन हुँदै !
काठमाडौं । नेपाली साहित्यमा युवापुस्तामाझ चर्तित साहित्यकार सुबिन भट्टराईले तिहारलाई छेको पारेर नयाँ पुस्तक ल्याउने भएका छन् । सातौं पुस्तकको...
-
इनास ग्लोबलको छैठौं महाधिवेशन सम्पन्न, अर्जुन काफ्ले अध्यक्षमा निर्वाचित
काठमाडौं। अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (इनास) ग्लोबल समितिको छैठौं महाधिवेशन आज काठमाडौंमा सम्पन्न भएको छ। उक्त महाधिवेशनले कार्यकाल २०२५–२०२७ का...
-
‘गाउँगाउँमा सिंहदरबार’ पुस्तकको मन्त्री न्यौपानेले गरिन् प्रशंसा
काठमाडौँ, २० भदौ । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री भगवती न्यौपानेले 'गाउँगाउँमा सिंहदरबार' नामक पुस्तकले स्थानीय सरकार सञ्चालनलाई थप बलियो...
-
प्रहरी सेवासँगै साहित्य–संगीतमा पनि अब्बल: आईजीपी खापुङको शब्दमा नयाँ गीत सार्वजनिक हुँदै !
काठमाडौं, भदौ १५ । नेपाल सरकारले सिफारीस गरेका प्रहरी महानिरीक्षक आई.जी.पी.चन्द्रकुबेर खापुङको शब्दरचनामा नयाँ गीत “चाहिन्न मलाई नदेउ साहारा”को रेकर्डीङ...
-
लुना लुँइटेल ‘मिस नेपाल २०२५’ घोषित
काठमाडौं । ललितपुरको गोदावरीस्थित सनराइज कन्भेन्सन सेन्टरमा शनिबार सम्पन्न भव्य फिनालेमा लुना लुँइटेल ‘मिस नेपाल २०२५’ बनेकी छन् । ‘द...
-
हरिबहादुरलाई अब दर्शकले ठूलो पर्दामा देख्न पाउने
काठमाडौँ । नेपाली हास्य क्षेत्रका सम्मानित व्यक्तित्व हरिवंश आचार्यले भूमिका निर्वाह गर्नुभएको चर्चित पात्र ‘हरिबहादुर’ पुनः दर्शकमाझ आउने भएको छ...
-
महाकाव्यमै मदन पुरस्कार विजेता लम्सालको चौथो महाकाव्य कल्प आउँदै
काठमाडौँ । अग्नि महाकाव्यका लागि २०७८ को मदन पुरस्कार विजेता कवि डा. नवराज लम्सालको चौथो महाकाव्य कल्प सार्वजनिक हुने भएको...
-
मेरो डान्स युनिभर्स सिजन–२ को विजेता रिस्ता गुरुङ
पाटन (ललितपुर), ८ भदौः मेरो भ्वाइस युनिभर्स सिजन–२ को विजेता प्रथम गुरुङ घोषित हुनुभएको छ । यस्तै मेरो डान्स युनिभर्स...












